काठमाडौं। यो साता सेयर बजारमा उतारचढावपूर्ण देखिएको छ। साताको सुरुवात गिरावटबाट भएको बजार अन्तिम कारोबार दिन उल्लेखनीय सुधारसहित बन्द भयो।
पाँचै दिन कारोबार खुलेको सातामा लगानीकर्ताको मनोविज्ञान मिश्रित देखिए पनि अन्त्यतिर खरिदचाप बढ्दा नेप्से सकारात्मक बनेको छ।
साप्ताहिक कारोबारको अन्त्यमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.४९ अंकले बढेर २ हजार ७४९ विन्दुमा पुगेको छ। साताको पहिलो कारोबार दिन सोमबार भने बजारमा तीव्र दबाब देखिएको थियो।
त्यसदिन नेप्से ३४.६३ अंकले घटेर २ हजार ७०४ विन्दुमा झरेको थियो। २७ कम्पनीको सेयर मूल्य बढ्दा २४० कम्पनीको मूल्य घटेको थियो। सो दिन चार अर्ब २६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।
मंगलबार बजारमा सामान्य सुधार देखियो। नेप्से ८.७८ अंकले बढेर २ हजार ७१२ विन्दुमा पुगेको थियो। उक्त दिन १६२ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनी घटेका थिए। कारोबार रकम तीन अर्ब ४३ करोड रुपैयाँ पुगेको थियो।
बुधबार बजार पुनः दबाबमा देखियो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.६४ अंकले घटेर २ हजार ७११ विन्दुमा सीमित भयो। १०४ कम्पनीको मूल्य बढ्दा १४९ कम्पनी घटेका थिए। कारोबार रकम ३ अर्ब १९ करोड रुपैयाँ बराबर रहेको थियो।
बिहीबार भने बजार सामान्य अंकले बढ्यो। यस दिन नेप्से ६.९४ अंकले बढेर २ हजार ७१८ विन्दुमा पुगेको थियो। सो दिन १५५ कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनी घटेका थिए। कुल कारोबार २ अर्ब ९३ करोड रुपैयाँमा सीमित रह्यो।
साताको अन्तिम कारोबार दिन शुक्रबार बजारमा उत्साहजनक सुधार देखियो। नेप्से २७.४९ अंकले बढ्दै साप्ताहिक उच्च विन्दु २ हजार ७४९ मा बन्द भयो। २३५ कम्पनीको सेयर मूल्य बढ्दा केवल २६ कम्पनी घटेका थिए। शुक्रबार ३ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो।
यसैबीच, साताभर दोस्रो बजारसँगै प्राथमिक बजार पनि सक्रिय देखिएको छ। टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले वैशाख २३ गतेदेखि सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता आईपीओ निष्कासन गरेको छ। उक्त आईपीओमा वैशाख २८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
त्यसैगरी, सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन दिने समयसीमा पनि यही साता सकिएको छ। कम्पनीले कुल ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ, जसअन्तर्गत पहिलो चरणमा ८५ हजार कित्ता सेयर विदेशमा रहेका नेपालीका लागि छुट्याइएको थियो।
माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनीको आईपीओमा समेत वैदेशिक रोजगारीमा रहेका नेपालीबाट आवेदन संकलन भइरहेको छ।
त्यस्तै, नेप्सेमा दुई कम्पनीको बोनस सेयर पनि सूचीकृत भएका छन्। सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ९.५ प्रतिशत तथा सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो। यी दुवै कम्पनीका बोनस सेयर शुक्रबारदेखि दोस्रो बजारमा कारोबारमा आएका छन्।


