काठमाडौँ: सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को चालु आर्थिक वर्ष २०८२/८३ को चैतसम्मको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा उल्लेख्य गिरावट देखिएको छ। कम्पनीले यस अवधिमा १३ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ, जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नाफा २५ करोड १९ लाख रुपैयाँ थियो।
यद्यपि नाफा घटे पनि बीमा व्यवसाय विस्तार भने सकारात्मक देखिएको छ। कम्पनीको कुल बीमाशुल्क आर्जन बढेर २ अर्ब ९७ करोड ५० लाख रुपैयाँ पुगेको छ। गत वर्षको चैतसम्म यस्तो आम्दानी २ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ थियो।
त्यस्तै, खुद बीमाशुल्क संकलनमा पनि सुधार आएको छ। अघिल्लो वर्ष १ अर्ब २९ करोड २४ लाख रुपैयाँ रहेको खुद बीमाशुल्क समीक्षा अवधिमा बढेर १ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।
वित्तीय सूचकहरूतर्फ हेर्दा, कम्पनीको महाविपत्ति कोषमा २२ करोड ६७ लाख रुपैयाँ सञ्चित रहेको छ भने रिटेन्ड अर्निङ १८ करोड ८१ लाख रुपैयाँ कायम भएको छ। अन्य इक्विटी अन्तर्गत कम्पनीसँग ५३ करोड ९४ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।
हाल सलिकोको चुक्तापुँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ पुगेको छ। साथै, कम्पनीको स्पेसल रिजर्भ २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ।
प्रतिशेयर आम्दानी (ईपीएस) भने वार्षिकीकृत आधारमा ६ रुपैयाँ ७७ पैसा कायम भएको कम्पनीले जनाएको छ।


