काठमाडौँः नेपालमा रेमिट्यान्स (विप्रेषण) आप्रवाह उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह १०.२ प्रतिशतले बढेको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार २०८२ चैत महिनामा मात्रै २०९ अर्ब ७५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १३९ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.५ प्रतिशतले बढेको थियो।
त्यसैगरी, समीक्षा अवधिमा खुद द्वितीय आय (नेट ट्रान्सफर) १८ खर्ब २० अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब ३ अर्ब १२ करोड रुपैयाँ रहेको थियो।
वैदेशिक रोजगारीतर्फ भने नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या घटेको देखिएको छ। समीक्षा अवधिमा संस्थागत तथा व्यक्तिगत रूपमा नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ९४ हजार १८६ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ९३ हजार २५९ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ५८ हजार २२२ र २ लाख ४९ हजार ६५२ रहेको थियो।


