काठमाडौँः चालु आर्थिक वर्षको पहिलो ९ महिनामा देशको बाह्य आर्थिक सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ। चालु खाता, शोधनान्तर स्थिति तथा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) सबै सूचकहरूमा वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
चालु खाता समीक्षा अवधिमा ६ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो बचत २ खर्ब २२ अर्ब ६७ करोड रुपैयाँ मात्र थियो। अमेरिकी डलरमा पनि चालु खाता बचत १ अर्ब ६४ करोडबाट बढेर ४ अर्ब ३२ करोड पुगेको छ।
त्यसैगरी, समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७ अर्ब ७१ करोड रुपैयाँ थियो।
प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) पनि वृद्धि भएको छ। समीक्षा अवधिमा १४ अर्ब ५५ करोड रुपैयाँ एफडीआई भित्रिएको छ भने अघिल्लो वर्षको सोही अवधिमा ८ अर्ब ९४ करोड रुपैयाँ मात्र आएको थियो।
शोधनान्तर स्थिति (बीओपी) पनि मजबुत बनेको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ, जुन अघिल्लो वर्ष ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ थियो। अमेरिकी डलरमा समेत यो २ अर्ब ५५ करोडबाट बढेर ५ अर्ब १० करोड पुगेको छ।
समग्रमा, बाह्य क्षेत्रका प्रमुख सूचकहरूमा सुधार देखिँदा देशको विदेशी मुद्राको अवस्था अझ सुदृढ बनेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।


