काठमाडौँः स्नो रिभर्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसके पछि सार्वसाधारणका लागि बिक्रि खुल्ला गरेको हो ।
कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर, अर्थात् १८ करोड ७५ लाख रुपैयाँ मूल्य बराबरको १८ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो। जसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि तथा ९३ हजार ७५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो, जसको बाँडफाँड सम्पन्न भइसकेको छ।
त्यसैगरी, ४६ हजार ८७५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र १८ हजार ७५० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएर बाँडफाँड गरिसकिएको कम्पनीले जनाएको छ।
अब दोस्रो चरणअन्तर्गत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ बराबरको ७ लाख ७८ हजार १२५ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गरेको हो।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा जेठ १ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।


