काठमाडौँः स्मार्ट टेलिकम प्रालिको धितो लिलामी प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे पक्राउ परेपछि बैंक तथा वित्तीय संस्थासम्बद्ध चार वटै संगठनले संयुक्त रूपमा आपत्ति जनाएका छन्।
नेपाल प्रहरीले स्मार्ट टेलिकमको धितो लिलामीमार्फत कर्जा असुली गरिएको विषयमा अनुसन्धान गर्दै बुधबार पाण्डेलाई पक्राउ गरेको हो। स्मार्ट टेलिकमले बैंकबाट लिएको करिब ४ अर्ब ६० करोड रुपैयाँ ऋण नतिरेपछि बैंकले धितोस्वरूप रहेका टेलिकम उपकरण लिलाम गरी कर्जा असुल गरेको थियो।
घटनापछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघ ले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्।
संयुक्त विज्ञप्तिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकको नीतिअनुसार बैंकहरूले सर्वसाधारणबाट निक्षेप संकलन गरी कर्जा प्रवाह गर्ने र असुली नभएको अवस्थामा धितो लिलामीमार्फत कर्जा उठाउने कानुनी अधिकार रहेको उल्लेख गरिएको छ।
संगठनहरूले कर्जा असुलीको प्रक्रियामा संलग्न भएको आधारमा बैंकका सीईओलाई पक्राउ गर्नुले बैंकिङ क्षेत्रको साखमा नकारात्मक असर पर्ने तथा वित्तीय स्थायित्वमै चुनौती उत्पन्न हुन सक्ने बताएका छन्।
विज्ञप्तिमा बैंकको साख र प्रमुख कार्यकारी अधिकृत पदको गरिमालाई ध्यानमा राख्दै अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ। साथै, आवश्यक अनुसन्धान गर्नुपरे पनि ‘सुन अनि थुन’ को सिद्धान्तअनुसार ज्योति प्रकाश पाण्डेलाई थुनाबाहिर राखेर अनुसन्धान अगाडि बढाउन सम्बन्धित निकायसँग अपिल गरिएको छ।


