काठमाडौँ: समस्याग्रस्त सहकारीमा अड्किएको बचत रकम फिर्ता गर्ने प्रक्रिया सरकारले सुरु गरेको छ। पहिलो चरणमा साना बचतकर्तालाई प्राथमिकतामा राख्दै रकम वितरण थालिएको हो।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार आइतबार तीन सहकारी संस्थाका ३ सय ७८ जना बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छन्। रकम फिर्ता पाउनेमा कान्तिपुर सहकारीका २ सय १५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारीका ७ जना रहेका छन्।
समितिका अनुसार सुरुआती चरणमा कम रकम बचत गरेका व्यक्तिलाई प्राथमिकता दिइएको छ। आगामी दिनमा बचत रकमको आधारमा वर्गीकरण गरी चरणबद्ध रूपमा रकम फिर्ता प्रक्रिया अगाडि बढाइनेछ।
समस्याग्रस्त सहकारीमा हाल करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको तथ्यांक छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेको समितिको भनाइ छ।
समितिले ५ लाख रुपैयाँभन्दा कम रकम बचत गर्ने व्यक्तिलाई साना बचतकर्ता र सोभन्दा बढी रकम जम्मा गर्नेलाई ठूला बचतकर्ताको श्रेणीमा राखेको छ। तथ्यांकअनुसार कुल ७६ हजार बचतकर्तामध्ये १८ हजार जनाको बचत ५ लाख रुपैयाँभन्दा माथि छ।
यसैबीच प्रतिभा रावल ले बचत रकम फिर्ता प्रक्रियालाई प्रभावकारी बनाउन सहकारीका ऋणीबाट बक्यौता उठाउने कामलाई पनि तीव्र बनाइएको जानकारी दिएकी छन्। उनका अनुसार ऋणीहरूको विवरण सार्वजनिक भएसँगै ऋण तिर्ने क्रम बढ्न थालेको छ।
समितिका अनुसार हालसम्म समस्याग्रस्त सहकारीका ऋणीहरूबाट २ करोड रुपैयाँभन्दा बढी रकम असुल भएको छ। अब ऋण असुली र बचत फिर्ताको प्रक्रिया सँगसँगै अघि बढाइने जनाइएको छ।


