काठमाडौँः टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक निष्काशन (आईपीओ)को बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले बुधबार बिहान बाँडफाँड प्रक्रिया सम्पन्न गरेको जनाएको छ।
कम्पनीले वैशाख २३ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता सेयर निष्काशन गरेको थियो। उक्त आईपीओमा २९ लाख ४८ हजार ९६६ जनाले आवेदन दिएका थिए। तीमध्ये २७ लाख ७१ हजार २५२ आवेदन मात्र योग्य ठहरिएका छन्।
आवेदन संख्या अत्यधिक भएपछि गोलाप्रथामार्फत सेयर बाँडफाँड गरिएको हो। बाँडफाँड अनुसार २ लाख ५१ हजार ५४५ जनाले सेयर प्राप्त गरेका छन्। तीमध्ये ५ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् भने बाँकीले १० कित्ता–१० कित्ताका दरले सेयर हात पारेका छन्।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन १ गते आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले भोजपुर जिल्लामा निर्माण गरेको ८ मेगावाट क्षमताको टक्सार पिखुवाखोला जलविद्युत आयोजना २०७८ वैशाख १ गतेदेखि व्यावसायिक उत्पादनमा आएको हो।


