काठमाडौँ: बढ्दो शहरीकरणसँगै राजधानी काठमाडौँलगायत प्रमुख सहरहरूमा विलासी जीवनशैलीप्रति आकर्षण बढ्दो छ। जग्गाको सीमित उपलब्धताका कारण राजधानी काठमाडौँमा ‘अपार्टमेन्ट कल्चर’ विकसित हुँदै गएको छ। यसैकारण राजधानीमा निजी लगानीमा ‘लक्जरी अपार्टमेन्ट’ निर्माण बढ्दै गएको छ।
यसैक्रममा मुलुकमा दुई प्रमुख व्यवसायिक घरानाहरू अपार्टमेन्टमा लगानी विस्तार गरेका छन्। केयल ग्रुप र केसी ग्रुपको संयुक्त लगानीमा काठमाडौंको विशालनगरमा ‘डीएलएफ ग्रिन्स’ अपार्टमेन्ट निर्माण भइरहेको छ।
कुल ४६ युनिट अपार्टमेन्ट बनाउन झण्डै चार अर्ब रुपैयाँ लगानी हुने भएको छ। ४६ मध्ये हालसम्म १५ युनिट अपार्टमेन्ट बुकिङ भइसकेको विकासकर्ता कम्पनी डीएलएफ नेपाल बिल्डर्सले जनाएको छ।
बुकिङबाट कम्पनीले २९ करोड रुपैयाँ उठाइसकेको छ। अपार्टमेन्ट परियोजनामा ६० प्रतिशत बैंकको ऋण र बाँकी ४० प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको डीएलएफले जनाएको छ।
निर्माणाधीन अपार्टमेन्ट दुई लाख पाँच हजार १७० वर्गमिटरमा फैलिएको छ। डीएलएफ ग्रीन्सका दुई टावरहरूमा ४६ आवासीय एकाइहरू समावेश भएको एक प्रिमियम अपार्टमेन्ट हो। अपार्टमेन्टहरू २५ सय वर्ग फिटका तीन बीएचकेदेखि पाँच हजार आठ सय वर्ग फिट पेन्टहाउस सम्मका छन्।
हालसम्म ४४ प्रतिशत वित्तीय प्रगति भएको कम्पनीले जनाएको छ। गत वर्ष २० प्रतिशत मात्र वित्तीय प्रगति भएको थियो। ५० प्रतिशत भौतिक प्रगति भएको छ। अपार्टमेन्टको ६० प्रतिशत सिभिल निर्माणको काम सकिएको छ।
मेकानिकल, उपकरण र प्लम्बिङसम्बन्धी कामहरू सुरु भएको छैन। निर्माणका क्रममा रहेकाले अपार्टमेन्ट परियोजना प्रमुख कार्यान्वयन जोखिम नै रहेको छ। परियोजनालाई केसी कन्स्ट्रक्सनले सिभिल, मेसिनरी, उपकरण र प्लम्बिङ ठेकेदारको रूपमा जोडिएको छ।
घर जग्गा व्यसायमा प्रतिस्पर्धा बढ्दो छ। विभिन्न क्षेत्रहरूमा फैलिएका संगठित र असंगठित संस्थाहरूको ठूलो संख्यामा उपस्थिति रहेको छ। बजारमा पहिले नै स्थापित कम्पनीहरले किफायती मूल्यमा अपार्टमेन्ट परियोजनाहरू लिएर आउँदैछन्। जसले गर्दा निर्माणको प्रारम्भिक चरणमा रहेको डीएलएफलाई प्रतिस्पर्धा मिल्छ।
कम्पनी घरजग्गा क्षेत्रको चक्रीय समस्या सामना गरिरहेका छन्। जुन प्रत्यक्ष रूपमा वर्तमान समष्टिगत आर्थिक वातावरण, ब्याजदर र व्यक्तिहरूसँग खर्चयोग्य आम्दानीसँग जोडिएको छ। घरजग्गा क्षेत्रको चक्रीय प्रकृतिले कम्पनीको सञ्चालन र नाफा मार्जिनमा ठूलो प्रभाव पार्न सक्छ।
डीएलएफ नेपाल सन् २०२१ मा अपार्टमेन्ट बनाउन स्थापना भएको कम्पनी हो। कम्पनी पूर्वाधार विकाससँग सम्बन्धित सहायक सेवाहरूसँगै घरजग्गा विकास, निर्माण र सञ्चालनमा संलग्न छ। यसको फ्ल्यागसीप परियोजना डीएलएफ ग्रीन्स हो।
केयल ग्रुप उत्पादनमूलक उद्योग सञ्चालन गर्दै आएको छ भने केसी ग्रुप निर्माण व्यवसायमा संलग्न छ।
नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाले रियल इस्टेट र व्यक्तिगत घर निर्माणमा कुल सात खर्ब २५ अर्ब १२ करोड रुपैयाँ बढी लगानी गरेका छन्। व्यक्तिगत आवास निर्माणमा चार खर्ब ५८ अर्ब ७५ करोड र रियलस्टेटमा लगानी गरेका छन्।


