जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल गर्दै आएका छन्।
यसै क्रममा बिहीबार (आज) भारतबाट १७ बोगीको भारतीय प्यासेन्जर ट्रेन, ट्रयाक टेस्टका लागि जनकपुरधाम आइपुगेको छ।
नेपाल रेल्वेका प्रबन्ध निर्देशक परिवेश पराजुलीका अनुसार ठूलो र बढी क्षमताको ट्रेन हालको ट्रयकमा चल्ने सक्छ कि सक्दैन भन्ने जाँच गर्नका लागि भारतबाट ईस्ट सेन्ट्रर रेल्वेले आज परीक्षण गरेको हो।
उनका अनुसार आज आएको रेलमा भारतीय रेल विभागका ६७ जना पदाधिकारीहरु परीक्षणका लागि कुर्था स्टेशनसम्म रेलमा सवार भएर आएका हुन्। उक्त रेल आजै भारत फर्किने र परीक्षण रिर्पोट तयार गरी सम्बन्धित निकायमा बुझाउने प्रबन्ध निर्देशक पराजुलीले जानकारी दिए।
अयोध्या जनकपुर रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेतापनि कहिलेदेखि सुरु हुने भन्ने यकिन नभइसकेको पराजुलीले बताए।
उनले दुबै देशका रेल विभागकाबीच पनि सम्झौत लगायतका कार्यहरु बाँकी रहेको जानकारी दिए। पराजुलीले नेपालतर्फका स्टेशन हल्टहरुको मर्मत सम्भार तथा सरसफाइका कार्यहरु भइरहेको बताए।
प्रधानमन्त्री बालेन्द्र साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्याबाट जनकपुरधामसम्म चल्ने रेलको उद्घाटन केही दिनपछि प्रधानमन्त्री साहको भारत भ्रमणको बेला संयुक्त रुपमा हुने जनाइएको छ।







