काठमाडौँ: पूर्वमन्त्री दीपक खड्काको पाँचतारे होटल फरेस्ट इन लिमिटेडको घाटामा उल्लेख्य वृद्धि भएको छ। कम्पनीले चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नौ महिना (साउनदेखि चैत) सम्ममा १८ करोड १० लाख ८९ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नोक्सानी १० करोड १६ लाख ८३ हजार रुपैयाँ मात्र रहेको थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीको घाटा करिब ७८ प्रतिशतले बढेको देखिन्छ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानीमा भने सुधार देखिएको छ। गत वर्ष चैतसम्म ८ करोड ४ लाख रुपैयाँ रहेको यस्तो आम्दानी यस वर्ष बढेर १३ करोड १९ लाख ७६ हजार रुपैयाँ पुगेको छ।
यद्यपि, आम्दानीको तुलनामा खर्चको वृद्धिदर उच्च हुँदा कम्पनीले नोक्सानी खेप्नु परेको हो। विशेषगरी कम्पनीको वित्तीय लागत निकै उच्च देखिएको छ।
यस अवधिमा कम्पनीले १२ करोड ९ लाख ८१ हजार रुपैयाँ ब्याज तथा वित्तीय लागतमा खर्च गरेको छ। जुन कम्पनीको कूल सञ्चालन आम्दानीको झण्डै ९१ प्रतिशत हुन आउँछ। यस्तै, कर्मचारी खर्च ६ करोड २७ लाख रुपैयाँ रहेको छ।
गत वर्षको चैतमा एक अर्ब दुई करोड रुपैयाँ रहेको चुक्ता पूँजी यस वर्ष बढेर २ अर्ब रुपैयाँ पुगेको छ। पूँजी बढे पनि निरन्तरको घाटाका कारण कम्पनीको जगेडा कोष झन् कमजोर बनेको छ। हाल कम्पनीको जगेडा कोष ४२ करोड ५ लाख रुपैयाँले ऋणात्मक रहेको छ, जुन गत वर्ष १६ करोड ९१ लाख रुपैयाँले मात्र ऋणात्मक थियो।
चैत मसान्तसम्ममा कम्पनीको कूल सम्पत्ति चार अर्ब ४० करोड ९९ लाख रुपैयाँ रहेको छ। यसमध्ये स्थिर सम्पत्ति चार अर्ब १० करोड रुपैयाँ बराबरको छ।
दायित्वतर्फ कम्पनीको दीर्घकालीन ऋण एक अर्ब ७९ करोड ६२ लाख रुपैयाँ रहेको छ। यस्तै अल्पकालीन ऋण नौ करोड ९९ लाख रुपैयाँ छ। कम्पनीको व्यापारिक तिर्नुपर्ने रकम चार करोड एक लाख रुपैयाँ रहेको देखिन्छ।
कम्पनीको कुल नेटवर्थ दुई अर्ब २१ करोड २ लाख ३४ हजार ८१९ रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १२.०७ रुपैया ऋणात्मक रहेको छ।


