काठमाडौँः एनसेलले गुणस्तर व्यवस्थापन तथा वातावरणीय व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता आईएसओ ९००१ र आईएसओ १४००१ प्राप्त गरेको छ। कम्पनीले यी प्रमाणपत्रले सेवा गुणस्तर र वातावरणीय जिम्मेवारीप्रतिको आफ्नो प्रतिबद्धता थप सुदृढ भएको जनाएको छ।
आईएसओ ९००१ गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम) सम्बन्धी विश्वव्यापी मानक हो। यसले संस्थाले ग्राहक सन्तुष्टि, सेवा प्रभावकारिता तथा नियामकीय मापदण्ड पूरा गर्न आवश्यक व्यवस्थापन प्रणाली अवलम्बन गरेको सुनिश्चित गर्दछ।
त्यसैगरी, आईएसओ १४००१ वातावरणीय व्यवस्थापन प्रणाली (इन्भाइरमेन्टल म्यानेजमेन्ट सिस्टम) सम्बन्धी अन्तर्राष्ट्रिय मान्यता हो। यसले संस्थालाई वातावरणीय प्रभाव न्यूनीकरण, फोहोर व्यवस्थापन तथा वातावरणसम्बन्धी कानुन र मापदण्ड प्रभावकारी रूपमा पालना गर्न मार्गदर्शन गर्छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोले ले आईएसओ ९००१ र १४००१ को मान्यता प्राप्त हुनु कम्पनीको सेवा गुणस्तर र दिगोपनप्रतिको प्रतिबद्धताको प्रमाण भएको बताएका छन्।
उनका अनुसार कम्पनीले यसअघि नै आईएसओ २७००१-२०२२ ९सूचना सुरक्षा व्यवस्थापन प्रणाली० र आईएसओ २७७०१-२०१९ ९गोपनीयता सूचना व्यवस्थापन प्रणाली० सम्बन्धी प्रमाणपत्र प्राप्त गरिसकेको छ। ती प्रमाणपत्र यस वर्ष पनि नवीकरण गरिएको कम्पनीले जनाएको छ।
एनसेलले यस्तो प्रमाणिकरण प्राप्त गर्ने नेपालको पहिलो दूरसञ्चार सेवा प्रदायक भएको दाबी गरेको छ।
कम्पनीका अनुसार नयाँ प्रमाणिकरणले ग्राहकलाई थप भरपर्दो नेटवर्क, गुणस्तरीय सेवा तथा वातावरणमैत्री सञ्चालनको अनुभव दिनेछ। साथै, व्यवसायिक साझेदार, नियामक निकाय तथा लगानीकर्ताले कम्पनीको पारदर्शिता, कम्प्लायन्स र निरन्तर सुधारप्रतिको प्रतिबद्धतामाथि थप विश्वास गर्न सक्नेछन्।
एनसेलले आगामी दिनमा पनि विश्वस्तरीय डिजिटल सेवा विस्तारसँगै वातावरण संरक्षण र दिगोपनलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ।


