काठमाडौं। पछिल्लो समय ठूला जलविद्युत आयोजनामा बैंकहरुको लगानी बढ्दै गएको छ। लगानीकर्ताहरुले पनि हौसियएर ठूला जलविद्युत आयोजना निर्माण गर्न थालेका छन्। निजी क्षेत्रको जलविद्युतमा लगानी बढेका कारण ऊर्जाको जडित क्षमता बढेर ४१ सय मेगावाट पुगिसकेको छ।
यसैक्रममा क्रिष्टल पावर डेभलपमेन्टले तमोर नदीमा बनाउन लागेको १६६ मेगावाटको सुपर तमोर जलविद्युत् आयोजनालाई पनि लगानी जुटेको छ। ग्लोबल आइएमई बैंकको अगुवाइमा आयोजनामा १९ अर्ब रुपैयाँ ऋण लगानी हुने भएको छ। आयोजना प्रवर्द्धक क्रिष्टल पावर र ग्लोबल आइएमईबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ।
ऋण सम्झौतामा कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्य र बैंकहरूको तर्फबाट ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले ऋण लगानी सम्झौतामा हस्ताक्षर गरेका छन्। आयोजना बनाउन २५ अर्ब ४० करोड रुपैयाँ अनुमान गरिएको छ। जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ।
बैंकहरुले १९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। आयोजनामा ग्लोबल आइएमई बैंकले चार अर्ब,सिद्धार्थ बैंकले चार अर्ब लक्ष्मी सनराईज बैंकले चार अर्ब, प्रभु बैंकले साढे तीन अर्ब, कृषि विकास बैंकले डेढ अर्ब र नेपाल एसबिआई बैंकले एक अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। बाँकी छ अर्ब ४० करोड रुपैयाँ स्वपुँजी लगानी हुने विकासकर्ता क्रिष्टल पावरले जनाएको छ।
आयोजना पानीको वहाव २५.५ घनमिटर प्रतिसेकेन्ड रहेनेछ। आयोजनाको हेड ७६२ मिटर रहने भएको छ। आयोजनाबाट वार्षिक ९८ करोड ३१ लाख ३० हजार युनिट विद्युत् उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ।
आयोजनाबाट ३०.८५ प्रतिशत सुक्खायाममा र ६९.१५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ।उत्पादन भएको पहिलो वर्ष क्रिष्टल पावरले बिजुली बेचेर पाँच अर्ब ८१ करोड रुपैयाँ आम्दानी गर्ने छ। नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) अनुसार विकासकर्ता कम्पनी क्रिष्टलले पहिलो आठ वर्षसम्म वार्षिक तीन प्रतिशतका दरले मूल्यवृद्धि पाउनेछ।
नदीमा ५० मिटर लामो बाँध निर्माण गरिने छ। ६ किलोमिटर लामो एवम् ४.४४ मिटर व्यास भएको इन्भर्टेड डि आकारको सुरुङमार्फत पानी लगिने भएको छ।
आयोजनाबाट उत्पादित विद्युतलाई आठ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको निर्माणाधीन मार्गेन सबस्टेसनमा जोडेर राष्ट्रिय प्रणालीमा समाहित गरिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार हाल आयोजनाको हेडवर्क्स, विद्युतगृह तथा सर्ज टैक क्षेत्रसम्म पहुँचसडकको काम सकिएको छ। आयोजनास्थलमा कार्यालय, कामदार तथा कर्मचारीको बसोबासका लागि क्याम्प, सामग्री भण्डारण घर, सैनिक क्याम्प तथा बंकर निर्माणको कार्य भइरहेको छ।


