काठमाडौँः झापाको शिवसताक्षी नगरपालिका–४ मा सञ्चालित झापा इनर्जी लिमिटेडको सौर्य विद्युत आयोजनामा आगलागी हुँदा ५ मेगावाट विद्युत उत्पादन प्रभावित भएको छ।
कम्पनीका अनुसार आइतबार (जेठ १८ गते) दिउँसो करिब १ः४२ बजे १० मेगावाट क्षमताको ग्रिडमा आबद्ध सौर्य आयोजनामा जडान गरिएका दुईवटा ५/५ एमभीए क्षमताका इन्भर्टरमध्ये एकमा अचानक आगलागी भएको थियो।
आगलागीका कारण उक्त इन्भर्टरमा क्षति पुगेपछि आयोजनाबाट उत्पादन हुँदै आएको ५ मेगावाट विद्युत पूर्ण रूपमा बन्द भएको कम्पनी सचिव सरोज श्रेष्ठले जानकारी दिएका छन्।
घटनाबारे कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड र सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई औपचारिक रूपमा जानकारी गराइसकेको जनाएको छ।
हाल क्षतिग्रस्त उपकरण मर्मत तथा प्रतिस्थापनको प्रक्रिया सम्बन्धी विवरण सार्वजनिक गरिएको छैन। अवरुद्ध उत्पादन पुनः सञ्चालनमा आउन लाग्ने समयबारे पनि कम्पनीले स्पष्ट जानकारी दिएको छैन।


