काठमाडौँ: नेपालमा बीवाईडी विद्युतीय सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इंकले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नेपाल भित्रिएका विद्युतीय सवारीसाधन सम्बन्धमा उठेका विभिन्न प्रश्न र आशंकाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सम्पूर्ण आयात तथा भन्सार प्रक्रिया प्रचलित कानुनअनुसार नै सम्पन्न भएको स्पष्ट पारेको छ।
कम्पनीले बिहीबार सार्वजनिक गरेको तथ्यगत स्पष्टिकरणमा हाल चर्चामा रहेका बीवाईडीका सवारीसाधन नेपाल सरकारको प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा निर्धारित प्रक्रियाअनुसार पूर्ण रूपमा आयात तथा जाँचपास गरिएको जनाएको छ।
साइमेक्सका अनुसार कोरला भन्सारमार्फत ६४९ वटा तथा रसुवागढी भन्सारमार्फत ४७२ वटा गरी कुल १,१२१ वटा बीवाईडीका विभिन्न मोडलका विद्युतीय सवारीसाधन नेपाल भित्रिएका र भन्सार जाँचपास सम्पन्न भएका छन्। यसबाहेक २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा पुगे पनि हालसम्म भन्सार जाँचपास प्रक्रिया सम्पन्न नभएको कम्पनीले जनाएको छ।

कम्पनीले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको दाबी गरेको छ। साथै त्यस्तो कुनै सुविधा प्राप्त गर्न अनुरोधसमेत नगरेको स्पष्ट पारेको छ।
साइमेक्सका अनुसार ग्राहकबाट पहिले नै सुनिश्चित भइसकेका बुकिङ पूरा गर्न तथा नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो माग सम्बोधन गर्न यी सवारीसाधन आयात गरिएका हुन्। आयात कार्य बीवाईडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, नियमित व्यावसायिक योजना तथा यातायात र ढुवानी व्यवस्थापनसम्बन्धी चुनौतीलाई ध्यानमा राखेर सम्पन्न गरिएको कम्पनीको भनाइ छ।
कम्पनीले सरकारी निकायसँग समन्वय गरी कर परिवर्तनबाट बच्न खोजेको वा कुनै अनुचित लाभ लिएको भन्ने आरोपलाई पूर्ण रूपमा निराधार, असत्य तथा कम्पनीको प्रतिष्ठामा आघात पुर्याउने खालको आरोप भनेको छ। कम्पनीका अनुसार आयातसम्बन्धी सम्पूर्ण गतिविधि नियमित व्यावसायिक आवश्यकता, मौज्दात व्यवस्थापन, ढुवानी तालिका तथा प्रचलित कानुनका आधारमा योजना बनाएर सञ्चालन गरिएको हो।
साइमेक्सले कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्ने जनाएको छ। सत्यतथ्य स्थापित गर्न आवश्यक आयात रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशसम्बन्धी कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी दस्तावेज सम्बन्धित निकायलाई उपलब्ध गराउन आफू पूर्ण रूपमा तयार रहेको कम्पनीले उल्लेख गरेको छ।
सञ्चारमाध्यम तथा सरोकारवाला पक्षलाई आधिकारिक अभिलेख र सम्बन्धित निकायबाट तथ्य पुष्टि नगरी निष्कर्षमा नपुग्न आग्रह गर्दै कम्पनीले सार्वजनिक भ्रम सिर्जना गर्ने वा कानुनी रूपमा सञ्चालन भइरहेका व्यवसायको प्रतिष्ठामा क्षति पुग्ने खालका सामग्री प्रकाशन नगर्न अनुरोध गरेको छ।
साइमेक्सले विद्युतीय सवारीसाधन क्षेत्रले नेपालको वातावरणीय लक्ष्य प्राप्ति, इन्धन आयातमा कमी तथा दिगो यातायात प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्दै तथ्यमा आधारित समाचार सम्प्रेषण र जिम्मेवारीपूर्ण सार्वजनिक बहस आवश्यक रहेको जनाएको छ।



