काठमाडौँ: नेपाल एयरलाइन्सले इरान युद्धका कारण संयुक्त अरब इमिरेट्स (यूएई), कतार र साउदी अरेबियामा लागू गरिएको क्षेत्रीय हवाई क्षेत्र (एयरस्पेस) प्रतिबन्धका कारण प्रभावित नेपाली यात्रुहरूलाई लक्षित गर्दै विशेष शुल्क छुट सुविधा घोषणा गरेको छ।
एयरलाइन्सले जारी गरेको सूचनाअनुसार दुबई, दोहा र दम्माम गन्तव्यका उडानबाट प्रभावित तथा उडान रद्द भएका यात्रुहरूका लागि एक पटकका लागि टिकटको मिति परिवर्तन शुल्क पूर्ण रूपमा छुट गरिएको छ। साथै नो-शो तथा टिकट फिर्ता (रिफन्ड) गर्दा लाग्ने शुल्कसमेत माफ गरिएको जनाएको छ।
नेपाल एयरलाइन्सले जारी गरेको सूचना अनुसार उक्त सुविधा १५ जुन २०२६ सम्म लागू रहनेछ। एयरस्पेस प्रतिबन्धका कारण यात्रुहरूलाई परेको असुविधा कम गर्ने उद्देश्यले यो निर्णय गरिएको एयरलाइन्सले जनाएको छ।
दुबई, दोहा र दम्माम गन्तव्यमा यात्रा गर्ने तथा यात्रा प्रभावित भएका यात्रुहरूले तोकिएको अवधिभित्र उक्त शुल्क छुट सुविधाको लाभ लिन सक्ने नेपाल एयरलाइन्सले जनाएको छ।


