काठमाडौँः सोपान फर्मासुटिकल्स लिमिटेडको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको कुल १ करोड ७१ लाख ६० हजार कित्ता सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो।
सेयर सूचीकृत भएसँगै कम्पनीको दोस्रो बजार कारोबार आगामी सोमबारदेखि सुरु हुनेछ। पहिलो कारोबार भने स्पेसल प्रि–ओपन सेसनमार्फत हुने नेप्सेले जनाएको छ।
नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको सेयर मूल्य ९२ रुपैयाँ १५ पैसादेखि २७६ रुपैयाँ ४५ पैसासम्म रहने मूल्य सीमा निर्धारण गरेको छ। उक्त सीमाभित्रको कुनै पनि मूल्यमा पहिलो कारोबार हुन सक्नेछ।
कम्पनीको सेयर ‘एसओपीएल’ संकेत चिन्हबाट कारोबार हुनेछ।
यसअघि कम्पनीले सर्वसाधारणका लागि वैशाख ३ गतेदेखि ८ गतेसम्म ३४ लाख ७४ हजार ९०० कित्ता आईपीओ निष्कासन गरेको थियो। सो आईपीओमा लगानीकर्ताबाट उत्साहजनक आवेदन परेको थियो।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन १७ गते प्राथमिक सेयर निष्कासनका लागि अनुमति प्रदान गरेको थियो। आईपीओ बाँडफाँड सम्पन्न भई सेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा भइसकेपछि कम्पनीको सेयर दोस्रो बजारमा प्रवेश गर्न लागेको हो।


