काठमाडौँः धितोपत्र बजारमा लगानीकर्ताको विवरणलाई थप व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यले डिम्याट खाता खोल्दा तथा नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले निक्षेप सदस्य (डीपी) हरूलाई परिपत्र जारी गर्दै २०८३ असार १ गतेदेखि लागू हुने गरी डिम्याट खातासम्बन्धी सेवामा राष्ट्रिय परिचय नम्बर अनिवार्य गरिएको जानकारी दिएको हो।
नयाँ व्यवस्थाअनुसार असार १ गतेपछि खोलिने सबै हितग्राही खातामा राष्ट्रिय परिचय नम्बर उल्लेख गर्नुपर्नेछ। साथै, हाल सञ्चालनमा रहेका खाताहरूको विवरण अद्यावधिक (केवाईसी अपडेट) गर्दा पनि राष्ट्रिय परिचय नम्बर समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसअघि नै सीडीएससीले गत फागुनमा ब्याकअफिस प्रणाली प्रयोग गर्ने निक्षेप सदस्यहरूलाई हितग्राही विवरणमा राष्ट्रिय परिचय नम्बर समावेश हुने गरी प्रणाली परिमार्जन गर्न निर्देशन दिएको थियो। सोही तयारीअनुसार अब राष्ट्रिय परिचयपत्रलाई अनिवार्य दस्तावेजका रूपमा कार्यान्वयन गर्न लागिएको हो।
सीडीएससीका अनुसार लगानीकर्ताको एकीकृत तथा यथार्थ विवरण कायम गर्ने, दोहोरो विवरण नियन्त्रण गर्ने तथा नियामकीय मापदण्डलाई प्रभावकारी बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो।
नयाँ व्यवस्थासँगै डिम्याट खाता खोल्न चाहने तथा खाता नवीकरण गर्नुपर्ने लगानीकर्ताले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ।


