गण्डकी। फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ। आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तरर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए।
“फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको छ”, उनले भने, “आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई दैनिक उडान सेवा सुरु हुन्छ।”
फ्लाई दुबईको टोलीले केही दिनअघि पोखरा अन्तरर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो। सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तरर्राष्ट्रिय विमानस्थलमा अन्तरर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको हो।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाई दुबईले उडान अनुमति पाएसँगै नेपालको तेस्रो अन्तरर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको पोखरा अन्तरर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको बताए।
पोखरा अन्तरर्राष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई तयार
हालसम्म छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तरर्राष्ट्रिय उडान हुन सकेको छैन। २२ अर्ब रुपैयाँ ऋणमा बनेको पोखरा अन्तरर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ। सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन भएको थियो।
सन् २०२५ मार्चमा निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु गरे पनि त्यो लामो समय टिक्न सकेन। गत मार्च २३ बाट हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सेवा बन्द गरेको थियो।
विमानस्थल बनाउने ५० वर्षअघिको योजनाले सार्थकता पाए पनि विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
पर्यटकीय राजधानीसमेत रहेको पोखरा अन्तरर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएर ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्रने आशमा रहेका पर्यटन व्यवसायी पनि विमानस्थलबाट नियमित अन्तरर्राष्ट्रिय उडानको पर्खाइमा छन्।
यस विमानस्थल बनेपछि पोखराको पर्यटनमा झण्डै एक खर्ब रुपैयाँ बराबरको लगानी थपिएको पर्यटन व्यवसायी बताउँछन्।
व्यवसायीहरूले पोखराबाट अन्तरर्राष्ट्रिय उडान गर्न आवश्यक नीति नियममा सहजीकरण गर्नुपर्ने, भारत र चीनका मुख्य सहरमा उडान गर्न राष्ट्रियस्तरका हवाई कम्पनीहरूलाई अनुमति दिनुपर्नेलगायत माग राख्दै आएका छन्।
स्वदेशी वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तरर्राष्ट्रिय विमानस्थलबाट राजधानी काठमाडौँ, भरतपुर, भैरहवालगायत गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन्।


