काठमाडौँ: नेपाल मेडिकल काउन्सिलले काठमाडौँ महानगरपालिका–४, बालुवाटारस्थित मारिया हस्पिटल (मारिया हेल्थ सेन्टर प्रालि) विरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ। अस्पताल सञ्चालन अनुमति नलिई स्वास्थ्य सेवा सञ्चालन गरेको तथा विदेशी चिकित्सकमार्फत गैरकानुनी रूपमा चिकित्सा अभ्यास गराएको आरोपमा काउन्सिलले सिलबन्दी गर्न जिल्ला प्रशासन र प्रहरीमा पत्राचार गरेको छ।
काउन्सिलले बुधबार जारी गरेको सूचनाअनुसार विशेष सूचनाका आधारमा गठित अनुगमन टोलीले जेठ १ गते अस्पतालको स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा उक्त संस्थासँग नियामक निकाय वा स्थानीय तहबाट अस्पताल सञ्चालन अनुमति नभएको पाइएको काउन्सिलले जनाएको छ।
काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले समेत उक्त संस्था आवश्यक क्लिनिकल मापदण्ड पूरा नगरी प्रचलित कानुनविपरीत सञ्चालन भइरहेको पुष्टि गरेपछि नेपाल मेडिकल काउन्सिलको पूर्ण बैठकले थप कारबाही अघि बढाउने निर्णय गरेको हो।
काउन्सिलले अस्पतालमा आबद्ध तीन चिनियाँ चिकित्सकहरू डा. उ सिएनलिन, डा. चेन सियाओलिन र डा. लिउ जिकिनको विदेशी नागरिक चिकित्सक अस्थायी दर्ता प्रमाणपत्र तत्कालका लागि निलम्बन गरेको छ।
त्यस्तै, अस्पतालको बोर्डमा आफ्नो नाम र अनुमति नम्बर राखी प्रचारप्रसारमा संलग्न नेपाली चिकित्सकहरूलाई व्यावसायिक आचारसंहिता उल्लंघन गरेको आरोपमा तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।
काउन्सिलले अनुमतिबिनै सञ्चालन भइरहेको उक्त संस्थालाई तत्काल सिलबन्दी गर्न काठमाडौँ महानगरपालिकालाई अनुरोध गरेको छ। साथै संस्थाका सञ्चालक तथा अन्य दोषी पक्षमाथि अनुसन्धान र कानुनी कारबाही चलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँ तथा जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरिएको जनाएको छ।
विदेशी चिकित्सकहरूले भिसा सर्तविपरीत अवैध संस्थामा काम गरेको भन्दै उनीहरूको कार्य सहमति रद्द गरी गैर-पर्यटकीय भिसा तथा श्रम इजाजत खारेज गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष विस्तृत प्रतिवेदनसहित अनुरोध गरिएको काउन्सिलले जनाएको छ।


