पर्वत। पर्वतको जलजला गाउँपालिका ८ को फर्से बस्तीबाट दैनिक ८०० लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ। कालीगण्डकी करिडोरको मालढुङ्गा बेनी खण्डमा पर्ने फर्से बस्तीबाट दैनिक करिब ८१२ लिटर दूध बिक्री हुँदै आएको हो।
यहाँका ३६ वटा व्यावसायिक पशुपालन फार्मबाट उक्तमात्रामा दूध उत्पादन हुने गरेको छ। स्थानीय सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थामा आबद्ध कृषकले व्यावसायिक रूपमा दूध उत्पादन गर्दै आएका छन्। बजारको समस्या नभएपछि यहाँका किसान व्यावसायिक पशुपालनमा लागेका हुन्।
प्रत्येक किसानले न्यूनतम पाँचदेखि ३० वटासम्म गाईभैँसीपालन गरेका छन्। दैनिक ५० देखि १०० लिटरसम्म दूध उत्पादन गर्ने किसानले बस्तीमा रहेको सङ्गम दुग्ध उत्पादक सहकारी संस्थाको संकलन केन्द्रमा बिक्री गर्दै आएका छन्।
यहाँ संकलित दूध छिमेकी जिल्ला बागलुङमा रहेको दुग्ध सहकारी संस्थाले खरिद गर्दै आएको छ। उक्त संस्थाले प्रतिलिटर ९० देखि गुणस्तरका आधारमा १२५ रुपैयाँ सम्म किसानबाट दूध लिने गरेको संगम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए। उनका अनुसार दूध बिक्रीबाट वार्षिक तीन करोड रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ।
सहकारीमा दूध संकलन गर्ने किसानलाई भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालयले प्रतिलिटर पाँच रुपैयाँका दरले ढुवानी अनुदानसमेत दिँदै आएको छ। ढुवानी अनुदान पाएपछि किसानलाई सहज भएको अध्यक्ष सापकोटाले बताउए। उनका अनुसार दूध उत्पादक किसानलाई सहकारीले बैंक खातामा रकम भुक्तानी दिने गरेको छ।
दुधालु गाईभैँसीको बिमासमेत गरिएकाले किसानको पशुधन सुरक्षित भएका सहकारीका सचिव हरेमबहादुर खत्रीले बताउनुभयो। बजारको समस्या नभएकाले र पर्याप्त मूल्य पाउने भएकाले यहाँ पशुपालन गर्नेको आकर्षण बढ्दै गएको उनको भनाइ छ।
स्थानीय किसान राजन सापकोटाले आफूले लामो समयदेखि व्यावसायिक तरकारीखेती गर्दै आएकामा पछिल्लो समय गाईपालनतर्फ लागेको बताए। तरकारीभन्दा गाईपालनमा कम परिश्रम र बढी नाफा हुने भएकाले तरकारीखेतीको विकल्प रोजेको उनको भनाइ छ। उनले मासिक एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको जानकारी दिए।
१३ वर्षदेखि व्यावसायिक गाईपालनमा लागेका नारायण जिसीले विदेशमा भन्दा आफ्नै माटोमा प्रशस्त आम्दानी हुने देखेपछि वैदेशिक रोजगारी छोडेको बताउछन् । उनका अनुसार दैनिक ८० लिटर दूध उत्पादन हुन्छ।
पशुपालन छाडेर आठ वर्ष खाडीमुलुक साउदी अरब बसेका जिसीले फेरि फर्केर यही पेसालाई निरन्तरता दिएका हुन्। उनले वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको जानकारी दिए। १५ लाख रुपैयाँ लगानी गरेर व्यवसाय थालेका जिसीले व्यवसायलाई अझै बढाउने योजना बनाएका छन्।


