काठमाडौँ: वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको पसिना, विश्वास र मेहनतलाई आधार बनाएर स्थापित आइएमई लिमिटेड स्थापनाको २६औँ वर्षमा प्रवेश गरेको छ।
साढे दुई दशकभन्दा बढी समयदेखि विप्रेषण (रेमिट्यान्स) सेवामार्फत नेपालीहरूको आर्थिक तथा सामाजिक जीवनसँग जोडिएको आइएमईले वार्षिकोत्सवका अवसरमा आफ्नो यात्राको समीक्षा गर्दै आगामी दिनमा वित्तीय समावेशीकरण र डिजिटल सेवामा थप केन्द्रित हुने प्रतिबद्धता जनाएको छ।
स्थापना दिवसका अवसरमा शुभकामना दिदै संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईको सफलतामा ग्राहक, साझेदार, नियामक निकाय, बैंक तथा वित्तीय संस्था र कर्मचारीहरूको योगदान महत्वपूर्ण रहेको बताएका छन्।
“विश्वका विभिन्न कुनामा आफ्नो पसिना बगाएर परिवारको खुसी र राष्ट्रको समृद्धिका लागि योगदान पुर्याइरहनुभएका लाखौँ नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूले आइएमईमाथि गर्नुभएको विश्वास नै हाम्रो सबैभन्दा ठूलो पूँजी र प्रेरणा हो,” ढकालले भने।
उनले ‘रेमिट भनेकै आइएमई’ भन्ने पहिचानसँगै संस्थाको जिम्मेवारी पनि बढेको उल्लेख गर्दै विप्रेषणलाई औपचारिक माध्यमबाट भित्र्याउने, विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन सहयोग गर्ने तथा उत्पादनशील क्षेत्रमा लगानी प्रवाह बढाउन सरकारसँग सहकार्य जारी रहने बताए।
ढकालले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको श्रम नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै रोजगारीलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन आवश्यक नीतिगत तथा संरचनागत सुधारमा ध्यान दिन सरकारसँग आग्रह गरेका छन्।
भरोसाको २६ वर्ष
आइएमईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवाकर पौडेलले संस्थाको यात्रा नेपालीहरूको भरोसासँग जोडिएको बताएका छन्।
“यो यात्रा २६ वर्षदेखिको भरोसाको हो। नेपाल बाहिर रहेर पनि आफ्ना आफन्तलाई आइएमईमार्फत रकम पठाइरहनुभएका हरेक मेहनती हातहरूको कथा हो,” उनले भने।
उनका अनुसार काउन्टर सेवाबाट सुरु भएको ग्राहकसँगको सम्बन्ध अहिले डिजिटल माध्यममार्फत अझ छिटो, सुरक्षित र सहज बनेको छ।
“समय फेरियो, प्रविधि फेरियो, तर भरोसा उस्तै छ,” पौडेलले भने।
सानो परिकल्पनादेखि फिन्टेक इकोसिस्टमसम्म
सहसंस्थापक अध्यक्ष हेमराज ढकालले २६ वर्षअघि वैदेशिक रोजगारीको प्रारम्भिक चरणमा सुरु भएको आइएमई आज सफल ‘फिन्टेक इकोसिस्टम’का रूपमा स्थापित भएको बताएका छन्।
“सुरुका दिनमा प्रविधिको प्रयोग निकै सीमित थियो। तर विश्वव्यापी प्राविधिक विकासलाई आत्मसात् गर्दै आइएमईले आफ्ना सेवाहरूलाई थप छिटो, छरितो र सुरक्षित बनाएको छ,” उनले भने।
उनका अनुसार आइएमई अब केवल मनि ट्रान्सफर सेवामा सीमित नभई वित्तीय समावेशीकरण र नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको संस्था बनेको छ।
ढकालले आगामी दिनमा ग्राहकको आवश्यकता अनुरूप थप आधुनिक र अत्याधुनिक वित्तीय उत्पादन तथा सेवा बजारमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै संस्थाको सफलतामा सबै सरोकारवालाको साथ र सहयोग रहेको बताए।
अर्थतन्त्रमा योगदान विस्तार
आइएमई ग्रुपले रेमिट्यान्स सेवासँगै उद्योग, पर्यटन, बैंकिङ, जलविद्युत, पूर्वाधार तथा सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी विस्तार गर्दै आएको जनाएको छ। समूहले उत्पादन, रोजगारी सिर्जना, राजस्व वृद्धि तथा उद्यमशीलता प्रवर्द्धनमार्फत मुलुकको आर्थिक रूपान्तरणमा योगदान पुर्याउने लक्ष्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
२६ वर्ष पूरा गर्दै आइएमईले आफूलाई नेपालीहरूको विश्वासको केन्द्र, वित्तीय समावेशीकरणको अग्रदूत तथा नेपालको आर्थिक समृद्धिको साझेदारका रूपमा थप सशक्त बनाउने लक्ष्य अघि सारेको छ।


