काठमाडौँ: आगामी साउनमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले शुक्रबार पारदर्शी चिठ्ठा प्रक्रियामार्फत सहभागी ब्रान्डहरूलाई स्टल वितरण गरेको हो।
आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने एक्स्पोका लागि कुल ४९ वटा स्टल बाँडफाँड गरिएको नाइमाले जनाएको छ। तीमध्ये २६ वटा स्टल चार पाङ्ग्रे सवारी साधन ब्रान्डहरूलाई तथा २३ वटा स्टल दुई पाङ्ग्रे र व्यावसायिक सवारी साधन ब्रान्डहरूलाई प्रदान गरिएको छ।
स्टल बाँडफाँड कार्यक्रममा नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पोप्रति उद्योग क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिताले यसको महत्व थप पुष्टि गरेको बताइन्। उनले एक्स्पोलाई केवल सवारी साधन प्रदर्शनीमा सीमित नराखी आधुनिक, दिगो र सर्वसुलभ गतिशीलता प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गरिन्।
उनले प्रारम्भिक चरणका सबै स्टल सुनिश्चित भइसकेको जानकारी दिँदै निर्धारित समयसीमा समाप्त भइसकेपछि पनि केही कम्पनीहरूबाट सहभागिताका लागि अनुरोध आइरहेको बताइन्। उपलब्ध स्थान र सम्भावनाका आधारमा विशेषगरी नाइमा सदस्य कम्पनीहरूलाई प्राथमिकता दिँदै ती अनुरोधहरू सम्बोधन गरिने उनले जानकारी दिइन्।
नाइमा नेपाल मोबिलिटी एक्स्पो योजना समितिका अध्यक्ष गौरव शारदाले ४९ ब्रान्डको सहभागितासहित स्टल बाँडफाँड सम्पन्न हुनु उद्योग क्षेत्रको विश्वास, उत्साह र बढ्दो आकर्षणको प्रतिविम्ब भएको बताए। उनले उद्योग क्षेत्रको सहयोग र सहभागिताले एक्स्पोलाई नेपालकै सबैभन्दा ठूलो तथा प्रभावशाली मोबिलिटी प्रदर्शनीका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे।
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले स्टल बाँडफाँड प्रक्रिया पूर्ण रूपमा पारदर्शी, निष्पक्ष तथा पूर्वनिर्धारित मापदण्डअनुसार सम्पन्न गरिएको बताए। उनले नेपालका अधिकांश प्रमुख सवारी साधन ब्रान्डहरूको सहभागितासहित प्रदर्शनीको तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिए।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सवारी साधन, मोबिलिटी समाधान, नवीन प्रविधि तथा नवप्रवर्तनका पछिल्ला प्रवृत्तिहरू प्रदर्शन गरिनेछन्। एक्स्पोमा नयाँ उत्पादन सार्वजनिकरण, अत्याधुनिक प्रविधिको प्रदर्शन तथा ज्ञानमूलक सत्रहरू समेत समावेश हुने आयोजकले जनाएको छ।
नाइमाका अनुसार एक्स्पोले उपभोक्ता, व्यवसायी तथा उद्योगसँग सम्बन्धित सरोकारवालाहरूलाई एकै स्थानमा जोड्दै नेपालको मोबिलिटी क्षेत्रको वर्तमान अवस्था र भविष्यबारे जानकारी दिने अवसर प्रदान गर्नेछ।
प्रदर्शनीको समग्र व्यवस्थापन मेडिया स्पेस सोलुसन्सले गर्नेछ भने डिजिटल सोलुसन्स डिजिटल मिडिया साझेदार तथा प्रोफिट मेडिया नाइमा मोबिलिटी पब्लिकेसन्स साझेदारका रूपमा आबद्ध रहनेछन्।


