मुलुकको बैंकिङ प्रणालीमा अहिले एउटा उखान चरितार्थ भइरहेको छ– ‘आँपको रुख एउटाले रोप्ने, फल अर्कैले खाने।’
पछिल्लो तीन वर्षदेखि निजी क्षेत्रबाट कर्जाको माग सुस्त भएपछि बैंकहरूमा लगानीयोग्य रकम (तरलता) थुप्रिएर ११ खर्ब रुपैयाँ नाघेको छ। तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले सातापिच्छे निक्षेप संकलन उपकरणबाट तरलता तानिरहेको छ। नयाँ परियोजना र व्यवसायमा लगानीका ढोकाहरू नखुलेपछि बैंकहरू अहिले नयाँ ग्राहक खोज्नुभन्दा अरू बैंकका ‘असल ऋणी’ तान्न अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका छन्। यसलाई बैंकिङ भाषामा ‘लोन स्वाप’ अर्थात् कर्जा स्थानान्तरण भनिन्छ।
केही बैंकहरूबीच दीर्घकालका लागि सस्तो ब्याजको आकर्षक प्याकेज देखाएर यस्तो गरिरहेका हुन्। बैंकहरूले हाल चलनचल्तीमा रहेको सस्तो ब्याजदर आगामी पाँच वर्षसम्म दिने भनेर ऋणीहरूसँग सम्झौता गरिरहेको एक बैंकरले नेपाल क्लिक्सलाई बताए।
नेपाल राष्ट्र बैंकका अनुसार गत वैशाखमा वाणिज्य बैंकहरूको औसत आधार दर ४.९७ प्रतिशत छ। यस्तै ऋणको औसत ब्याजदर ६.७३ प्रतिशत छ। पछि यति सस्तो ब्याज नपाउने भएपछि ऋणी पनि आकर्षित हुन थालेका छन्। विशेषगरी सस्तो ब्याजदर र लामो समयसम्म स्थिर ब्याजदरको प्रस्तावमार्फत बैंकहरूले ग्राहक आकर्षित गर्न थालेपछि बैंकिङ क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै एक बैंकरले चिन्ता व्यक्त गरेका छन्।
बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको अहिलेको अवस्थामा अर्थतन्त्रमा अपेक्षित रूपमा नयाँ लगानी नबढ्दा कर्जाको माग कमजोर बनेको छ। नयाँ परियोजना र व्यवसायमा लगानीका अवसर सीमित भएपछि बैंकहरूले अन्य बैंकका स्थापित ग्राहकलाई आफ्नोमा ल्याउने रणनीति अपनाएको ती बैंकरको भनाइ छ।
उनका अनुसार अहिले बैंकहरू चौथो त्रैमासिकमा कर्जा असुली र व्यवसाय विस्तारमा केन्द्रित हुनुपर्ने भए पनि धेरै बैंकको ध्यान अरू बैंकका ग्राहक तान्नेतर्फ गएको छ।
‘अहिले नयाँ ऋण जाने क्षेत्र निकै सीमित छ। यस्तो अवस्थामा केही बैंकहरू अरू बैंकका ग्राहकलाई कम ब्याजदरको लोभ देखाएर आफ्नोमा ल्याउन सक्रिय छन्,’ ती बैंकरले भने, ‘एउटा बैंकमा आधार दरमा ३ प्रतिशत प्रिमियम तिरेर बसेको ग्राहकलाई अर्को बैंकले १ प्रतिशत मात्रै प्रिमियममा कर्जा दिने प्रस्ताव गरिरहेको अवस्था छ। यसले हामीलाई पनि अप्ठेरोमा पारेको छ।’
बजारमा ब्याजदर घटिरहेको अवस्थाबीच केही बैंकहरूले पाँच वर्षसम्म हालको ब्याजदरलाई स्थिर बनाएर कर्जा उपलब्ध गराउने योजना अघि सारेका छन्। यही प्रस्तावलाई आधार बनाएर ठूला व्यवसायिक ग्राहक तथा उद्योगीहरूलाई आकर्षित गर्ने प्रयास भइरहेको बताइन्छ।
बैंकहरूले ‘फ्लोटिङ र फिक्स्ड रेट’ मा कर्जा लगानी गरेका हुन्छन्। अधिकांश उद्योगी व्यवसायीहरूले फ्लोटिङ दरमा ऋण लिएका हुन्छन्। हाल ब्याजदर घटेर तल्लो विन्दुमा पुगेपछि ऋणीहरू पनि सस्तो ब्याजमा पाँच वर्षसम्म फिक्स्ड गर्न चाहेका छन्।
स्रोतका अनुसार अहिले केही बैंकहरूले ७ देखि ८ प्रतिशतको स्थिर ब्याजदरमा पाँच वर्षसम्म कर्जा दिने प्रस्ताव गरिरहेका छन्। ब्याजदर नबढ्ने ग्यारेन्टी पाएपछि ग्राहकहरू पनि बैंक परिवर्तन गर्न इच्छुक देखिएका छन्।
‘फ्लोटिङ ब्याजदरमा बसेका ग्राहकलाई पाँच वर्षसम्म ब्याजदर नबढ्ने आश्वासन दिइरहेका छन्। यस्तो अवस्थामा ग्राहक अर्को बैंकमा सर्नु स्वाभाविक हो’ ती बैंकरले भने, ‘कतिपय बैंकहरूले आधार दरमा न्यून प्रिमियम थपेर पनि ग्राहक तान्ने प्रयास गरिरहेका छन्। हामीले आफ्ना ग्राहक जोगाउन सक्दो प्रयास भने गरेका छौँ।’
पछिल्लो समय जलविद्युत् आयोजना बैंकहरूको प्रमुख लक्ष्य बनेका छन्। प्रारम्भिक चरणमा उच्च जोखिम मोलेर ऋण लगानी गरेका बैंकहरूले आयोजना निर्माण अवधिभर साथ दिने गरेका छन्। तर, आयोजना सम्पन्न भई विद्युत् उत्पादन सुरु भएपछि अन्य बैंकहरूले कम ब्याजदरको प्रस्ताव राख्दै त्यस्ता परियोजनाको ऋण आफ्नोमा सार्ने प्रयास गरिरहेका छन्।
‘सस्तो ब्याज भएका बेला जलविद्युत कम्पनीहरूले धमाधम सस्तो ब्याजमा पाँच वर्षसम्म फिक्सड रेटमा ऋण सम्झौता गरिरहेका छन्। यो अस्वस्थ प्रतिस्पर्धा हो,’ एक बैंकरले भने, ‘विगतमा बैंकहरूले गरेको गल्तिले अहिले क्षेत्र नै समस्यामा परेको कुरालाई नजरअन्दाज गर्दै केहीले गलत अभ्यास सुरु गरेका छन्।’
उनका अनुसार, अहिले सबैभन्दा धेरै लोन स्वाप हाइड्रो परियोजनामा भइरहेको छ। ‘आयोजना निर्माणको जोखिम एउटा बैंकले बेहोर्छ। तर, परियोजना सफल भएपछि अर्को बैंकले सस्तो ब्याजदर देखाएर ऋण आफ्नोमा सार्छ। यो त आँपको रुख एउटाले रोप्ने र फल अर्कोले खाने जस्तै अवस्था भयो।’
स्रोतका अनुसार यस्तो प्रतिस्पर्धाले तत्कालका लागि ग्राहकलाई फाइदा पुर्याए पनि दीर्घकालमा बैंकिङ प्रणालीका लागि चुनौती निम्त्याउन सक्छ। अत्यन्त कम ब्याजदरमा कर्जा प्रवाह गर्दा बैंकहरूको आम्दानी घट्ने, नाफामा दबाब पर्ने र वित्तीय सन्तुलन कमजोर हुने जोखिम रहने स्रोतको भनाइ छ।
स्थिर ब्याजदरमा लामो अवधिका लागि कर्जा दिँदा भविष्यमा आधार दर बढे बैंकहरूलाई घाटा व्यहोर्नुपर्ने अवस्था आउन सक्ने उनको तर्क छ।
‘अहिले बैंकहरूले बजार हिस्सा बढाउन सस्तो ब्याजदरमा ग्राहक तानिरहेका छन्। तर, भविष्यमा आधार दर बढे पाँच वर्षसम्म स्थिर ब्याजदरमा कर्जा दिनु बैंककै लागि घाटाको विषय बन्न सक्छ। यो दीर्घकालीन रणनीतिभन्दा पनि तत्काल बजार कब्जा गर्ने प्रयास जस्तो देखिन्छ’ उनले भने।
नयाँ लगानीका क्षेत्र विस्तार हुन नसक्दा बैंकहरूबीच असल ग्राहक खोसाखोसको अवस्था सिर्जना भएको देखिन्छ। नियामक निकायले कर्जा स्थानान्तरण र स्थिर ब्याजदर सम्बन्धी स्पष्ट तथा प्रभावकारी नीति नल्याए यसले भविष्यमा बैंकिङ प्रणालीमा थप जोखिम निम्त्याउन सक्ने बताइन्छ।
उनीहरूका अनुसार बैंकहरूले एकअर्काका ग्राहक तान्ने प्रतिस्पर्धाभन्दा उत्पादनमूलक क्षेत्र र नयाँ लगानीका अवसर खोज्नेतर्फ ध्यान दिनु अर्थतन्त्रका लागि बढी लाभदायक हुने ति बैंकरको भनाई छ।


