काठमाडौँ: राहदानी छपाइ सम्बन्धी कार्यमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ। सोमबार आयोगले विशेष अदालतमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी, तुल्सी प्रसाद आचार्य र मणिन्द्र मल्लसहित र ४ जना विदेशीसहित १६ जनाविरुद्ध तथा दुई विदेशी कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो।
प्रधानमन्त्री कार्यालयको दबाबमा अख्तियारले गत सातादेखि राहदानी छपाइ सम्बन्धी कार्यमा अनियमितता प्रकरणको अनुसन्धानलाई तीव्रता दिएको थियो। प्रधानमन्त्री वालेन्द्र शाहले गत सोमबार प्रधानमन्त्री कार्यालयमा प्रमुख आयुक्त प्रेमकुमार राईसहित आयुक्तहरूलाई डाकेर साथमा आफ्ना सचिवालय सदस्यहरूसहितलाई राखेर दबाब दिएका थिए।
यस विषयमा आइतबारदेखि चितवनमा सुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाहले दबाब दिइएको स्वीकार गर्दै आवश्यक परे ५ वर्ष नै सोधपुछ गरिने अभिव्यक्ति दिएका थिए।
यसै प्रकरणमा प्रधानमन्त्री कार्यालयले पूर्व परराष्ट्रमन्त्री आरजु देउवाविरुद्ध पनि अनुसन्धान गरी मुद्दा दायर गर्न दबाब दिएको थियो।
आयोगले देउवालाई राहदानी छपाइसम्बन्धी भ्रष्टाचार आरोपको अनुसन्धानका क्रममा बयानका लागि उपस्थित हुन सोमबार म्याद तामेल गरेको थियो। आयोगले सूचना बुझेको वा घरदैलोमा टाँस भएको मितिले बाटोको म्यादबाहेक तीन दिनभित्र आयोगमा उपस्थित हुन निर्देशन दिएको थियो।
म्याद तामेल भए पनि अख्तियारले दायर गरेको मुद्दामा आरजुलाई भने प्रतिवादी बनाइएको छैन। विशेष अदालतकी प्रवक्ता पार्वती हितानका अनुसार १० जना कर्मचारी, संलग्न २ विदेशी कम्पनी, ४ जना नेपाल विदेशी नागरिक र २ जना नेपाल प्रतिनिधिलाई प्रतिवादी बनाइएको छ।


