काठमाडौँः साताको तेस्रो कारोबार दिन बुधबार (आज) नेप्से परिसूचक घटेको छ। पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक १४.४५ अंक घटेर २ हजार ६६०.०२ विन्दुमा झरेको छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब ३६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार रुपैयाँबराबरको १ करोड ७ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको सेयर यस दिन पनि सकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा यस दिन पनि आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड ६२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।


