काठमाडौं। वन्डर्स इनर्जी प्रालिको वार्षिक साधारणसभा सम्पन्न भएको छ। वन्डर्सले नौ मेगावाटको खिम्ती ध्वाँङ् जलविद्युत आयोजनाको निर्माण थालेको छ।
आयोजना आगामी २०८४ चैतमा सम्पन्न हुने कम्पनीका सञ्चालक प्रकाश दुलालले बताए। आयोजनाको लागि आवश्यक सरकारी जग्गा प्राप्ति र रुख कटानको अनुमति मन्त्रिपरिषदबाट प्राप्त भएको छ।
आयोजना बनाउन कूल एक अर्ब ९० करोड लाग्ने अनुमान गरिएको छ। जसअनुसार एक अर्ब २५ करोड रुपैयाँ ऋण लगानीको लागि एनएमबी बैंकसँग समझदारी अन्तिम चरणमा पुगेको छ। बाँकी ६५ करोड मध्ये ३५ करोड रुपैयाँ जुटिसकेको दुलालले जानकारी दिए।
बाँकी ३० करोड रुपैयाँ असोज भित्रमा जुटाउने गरि काम भैइरहेको उनले जानकारी जानकारी दिए।
यसैगरी साधारणसभाले कम्पनी पुँजी वृद्धि गरेर एक अर्ब रुपैयाँ पुर्याउने भएको छ। जसअनुसार ७० करोड स्वपँजी र ३० करोड रुपैयाँको साधारण सेयर (आईपीओ) जारी गर्न भएको छ। आईपीओ निष्कासन गर्न सञ्चालक समितिलाइ अख्तियार दिने निर्णय सभाले गरेको छ।


