काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पदभार ग्रहणसँगै पूँजी बजारमा सम्पत्ति शुद्धीकरण (एन्टी मनी लाउन्डरिङ) सम्बन्धी सचेतना र क्षमता अभिवृद्धिलाई प्राथमिकता दिएका छन्।
सोमबार बोर्डको कार्यालयमा पदबहाली गर्दै उनले सूचीकृत कम्पनी, मर्चेन्ट बैंकर, धितोपत्र दलाल (ब्रोकर) तथा अन्य सबै बजार सहभागीका लागि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम सञ्चालन गर्ने निर्णय गरेका हुन्। यही निर्णयलाई उनले आफ्नो कार्यकालको पहिलो औपचारिक निर्णय बनाएका छन्।
पदबहालीका क्रममा बोर्डका कार्यकारी निर्देशकहरू रुपेश केसी, मुक्तिनाथ श्रेष्ठ, विनयदेव आचार्यलगायत कर्मचारीले अध्यक्ष भट्टलाई स्वागत गरेका थिए।
यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अध्यक्ष भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। शपथपछि अर्थमन्त्रीले पूँजी बजारमा लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राख्दै निष्पक्ष, पारदर्शी र इमानदार ढंगले जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका थिए।
अर्थमन्त्रीले कुनै पनि प्रकारका अनुचित प्रभाव, लोभ वा प्रलोभनबाट टाढा रही बजारको विश्वसनीयता अभिवृद्धि गर्न तथा पूँजी परिचालनमार्फत आर्थिक वृद्धिमा योगदान पु¥याउने वातावरण निर्माण गर्न अध्यक्ष भट्टले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
मन्त्रिपरिषद्को असार ५ गतेको बैठकले डा. भट्टलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। प्रशासनिक प्रक्रियाका कारण केही दिनपछि उनले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।
डा. भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। करिब तीन दशक केन्द्रीय बैंकमा सेवा गरेका उनी ’स्टक मार्केट इफिसियन्सी इन नेपाल’ विषयमा विद्यावारिधि (पीएचडी) गरेका पूँजी बजारका जानकारका रूपमा परिचित छन्।


