दमौली। तनहुँमा निर्माण हुन गइरहेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको जग्गा अधिग्रहणका लागि क्षतिपूर्ति निर्धारण गरिएको छ। आयोजना तनहुँ हाइड्रो लिमिटेडले बनाउन लागेको हो। कम्पनीले १४० मेगावाटको तनहुँ अर्धजलासय आयोजना बनाइरहेको छ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले आयोजनाका लागि अधिग्रहण गरिने जग्गामा रहेका संरचनाको मुआब्जा निर्धारण गरेको हो।
विविद्युतगृह, कार्यालय भवन, कर्मचारी आवास तथा अन्य संरचना निर्माणका लागि अधिग्रहण गरिने जग्गामा रहेका घर, गोठ, टहरा तथा अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गरिएको तल्लो सेती जलविद्युत आयोजनाका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।
नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले उक्त कार्यका लागि आरके हाइड्रो इन्जिनियरिङ एण्ड एशोसिएट्स प्रालि काठमाडौसँग ठेक्का सम्झौता गरेको छ।
विंस २०८० फागुन ७ गते सम्पन्न ठेक्का सम्झौतापछि विस्फोटक पदार्थ प्रयोगसम्बन्धी स्वीकृति प्रक्रियामा भएको ढिलाइका कारण सो आयोजना निर्माण केही समय प्रभावित भएको थियो।
आयोजना बनाउन २२ करोड ७० लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए। उनका अनुसार आयोजनाबाट वार्षिक ५२ करोड युनिट विद्युत् उत्पादन हुनेछ। आयोजनाको बाँध तनहुँ बन्दीपुर गाउँपालिकाअन्तर्गत सारङघाट नजिक सेती नदीमा निर्माण गरिनेछ। आयोजनाको विस्तृत परियोजना प्रतिवेदन एसियाली विकास बैंकको अनुदान सहयोगमा तयार गरिएको हो।
बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१३, १४, देवघाट गाउँपालिका–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुनेछन्।
देवघाट गाउँपालिका–४ गाईघाटमा अर्धभूमिगत विद्युतगृह निर्माण गरी उत्पादन गरिने छ। उत्पादित बिजुलीलाई तनहुँ जलविद्युत आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिने भएको छ।


