काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री बनेयता पहिलोपटक विदेशी अधिकारीसँग ‘वन टू वन’ भेट गरेका छन्।
चैत १३ गते प्रधानमन्त्री निर्वाचित भएयता कुनै पनि विदेशी प्रतिनिधि तथा कूटनीतिज्ञसँग द्विपक्षीय भेटवार्ता नगरेका शाहले मंगलबार एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डासँग प्रधानमन्त्री कार्यालयमा छलफल गरेका हुन्।
कान्डा सोमबार काठमाडौँ आइपुगेका हुन्। सोमबार नै उनले अर्थमन्त्री स्वर्णिम वाग्ले र अर्थसचिव घनश्याम उपाध्यायसँग भेट गरेका थिए।
अर्थसचिव उपाध्यायसँग भेट गर्दै कान्डाले बालेन सरकारसँग केही सिक्न उत्सुक भएको टिप्पणी सामाजिक सञ्जालमार्फत गरेका थिए। पहिलोपटक नेपाल आएका कान्डाले नेपालका सरोकारवालाहरूको कुरा सुन्न, सिक्न र एडीबीले आगामी दिनमा कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा छलफल गर्न उत्सुक रहेको बताएका थिए।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सोमबार अर्थमन्त्रीसँगको भेटमा अर्थमन्त्री वाग्लेले नेपालको विकासका लागि बैंकका तर्फबाट प्राप्त सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्डालाई धन्यवाद दिएका थिए। उनले आगामी दिनमा समेत निरन्तर सहयोगका लागि आग्रह गरेका थिए।


