काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा घुस तथा भ्रष्टाचारविरुद्धको नीति (एन्टी ब्राइबरी एन्ड करप्सन पोलिसी) लागू गर्ने तयारी गरेको छ।
राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय असल अभ्यास र नेपालमा विकसित सुशासनका मापदण्डलाई ध्यानमा राख्दै बैंकिङ क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र सुशासन थप मजबुत बनाउन यो नीति ल्याउन लागिएको हो।
यो नीति लागू भएपछि बैंक तथा वित्तीय संस्थाले घुसखोरी, अनियमितता, हितको द्वन्द्व र भ्रष्टाचारजन्य गतिविधि रोक्न स्पष्ट आन्तरिक नीति तथा कार्यविधि अपनाउनुपर्नेछ। साथै, कर्मचारी र व्यवस्थापनले नैतिक आचरण पालना गर्ने, जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउने र शंकास्पद गतिविधिको निगरानी तथा नियन्त्रण गर्ने व्यवस्था गर्नुपर्ने अपेक्षा गरिएको छ।
राष्ट्र बैंकले यससम्बन्धी घुसखोरी तथा भ्रष्टाचारविरुद्धको नीतिको मस्यौदा तयार गरिसकेको जनाएको छ। आवश्यक सुझाव संकलन र स्वीकृतिपछि उक्त नीति कार्यान्वयनमा ल्याइनेछ।


