चेक बाउन्सका कारण कालोसूचीमा पर्ने व्यवस्था सहज बनाइने
काठमाडौँः नेपाल राष्ट्र बैंकले चेक बाउन्स (चेक अनादर)का कारण कालोसूचीमा परेर बैंकिङ सेवा लिन कठिनाइ भोग्नुपर्ने अवस्थालाई सहज बनाउने भएको छ।
मंगलबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८३र८४ को मौद्रिक नीतिमा चेक अनादरका कारण बैंकिङ पहुँचमा पर्ने असर कम गर्न आवश्यक नीतिगत सहजीकरण गरिने उल्लेख गरिएको छ।
हाल चेक बाउन्स भएपछि सम्बन्धित व्यक्ति वा संस्था कालोसूचीमा पर्ने व्यवस्था छ। यसका कारण नयाँ बैंक खाता खोल्न, ऋण लिन, कर्जा नवीकरण गर्नलगायत विभिन्न बैंकिङ सेवा लिन समस्या हुने गरेको छ।
राष्ट्र बैंकले यस्तो व्यवस्थाको पुनरावलोकन गर्दै वास्तविक समस्या भएका सेवाग्राहीलाई अनावश्यक रूपमा बैंकिङ सेवाबाट वञ्चित हुन नपर्ने गरी आवश्यक नीतिगत सुधार गर्ने जनाएको छ।


