काठमाडौँः नेपाल राष्ट्र बैंकले बुधबार (आज) २० अर्ब रुपैयाँ बराबरको ’नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ च’ जारी गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै एक वर्ष अवधिको उक्त ऋणपत्र बोलकबोलमार्फत निष्कासन गर्न लागेको जनाएको हो।
राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत सञ्चालन हुनेछ। बोलकबोलबाट प्राप्त प्रस्तावका आधारमा ब्याजदर निर्धारण गरिनेछ। सहभागी संस्थाले आफूले चाहेको ब्याजदर दशमलव पछिका चार अंकसम्म उल्लेख गरी बोलकबोल गर्न सक्नेछन्। ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ भने सावाँ अवधि पूरा भएपछि फिर्ता गरिनेछ।
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ’क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन्। न्यूनतम ५ करोड रुपैयाँ र त्यसपछि ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार आह्वान गरिएको रकमसम्म जुन बिन्दुमा ब्याजदर टुङ्गिन्छ, सोही दरलाई एकल ब्याजदर कायम गरिनेछ। सो वा सोभन्दा कम ब्याजदर कबोल गर्ने सबैलाई एउटै ब्याजदरमा ऋणपत्र बिक्री गरिनेछ। समान ब्याजदरमा माग आह्वान गरिएको रकमभन्दा बढी भएमा प्रो–राटा आधारमा बाँडफाँट गरिनेछ।
उक्त ऋणपत्रलाई नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गरी कर्जा लिन सकिनेछ। साथै, यसमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात तथा खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले स्वीकृत ऋणपत्रको रकम भुक्तानीका लागि पर्याप्त मौज्दात नराख्ने काउन्टरपार्टीमाथि कडा कारबाहीको व्यवस्था गरेको छ। स्वीकृत भएको दिन खातामा पर्याप्त रकम नभएमा सम्बन्धित बोल रद्द गरिनेछ। साथै, स्वीकृत रकमको २.५० प्रतिशत जरिवाना तिर्नुपर्ने र त्यस्ता संस्थालाई ६ महिनासम्म खुला बजार कारोबारअन्तर्गत हुने कुनै पनि बोलकबोलमा सहभागी हुन नपाउने व्यवस्था रहेको सूचनामा उल्लेख छ।


