काठमाडौं। एनएमबी बैंकले राजधानीको नक्सालमा १४ तला अग्लो नयाँ कर्पोरेट भवन बनाउन लागेको छ। बैंकले कर्पोरेट भवन बनाउन वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयार पारेको छ। इआइए प्रतिवेदनका लागि सार्वजनिक सुनुवाइ गर्न लागेको छ।
छ रोपनी नौ आना क्षेत्रफलमा भवन बन्न लागेको हो। भवनमा दुई वेसमेन्ट बनाउने प्रस्ताव गरिएको छ।
२०८० असोज १० मा बसेको बैंक सञ्चालक समिति बैठकले काठमाडौं महानगरपालिका वडा नम्बर १ मा रहेका आफ्नो जग्गामा कर्पोरेट कार्यालय बनाउने निर्णय गरेको थियो।
त्यसबेला सञ्चालक समिति बैठकले जग्गा र सोमा रहेको संरचनासमेत गरी एक अर्ब २१ करोड ३९ लाख रुपैयाँमा जग्गा किन्ने निर्णय गरेको थियो।
हाल बैंकको कर्पोरेट कार्यालय बबरमहलमा रहेको छ। बैंकको परामर्शदातामा ए नट आर्किटेक्चर एन आर्किटेक्स प्रालि रहेको छ। पछिल्लो समय बैंकहरुले आफ्नै कर्पोरेट भवन बनाउन थालेका छन्। चालू आर्थिक वर्षको तेस्रो त्रैमाशमा बैंकले दुई अर्ब ६७ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ।
कर्पोरेट भवन बनाउन बैंकले एक अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ।


