काठमाडौं – वेस्ट इन्डिजसँग टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। आइसीसी एकदिवसीय विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको हो।
जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा टस जितेर नेपालले पहिले बलिङको निर्णय लिएको हो। यता वेस्ट इन्डिजले भने पहिले ब्याटिङ गर्ने भएको छ।
आजको खेलमा नेपालको प्लेइङ सेटमा कुनै परिवर्तन गरिएको छैन। अघिल्लो खेलमा अमेरिकाविरुद्ध खेलको टिम नै प्रशिक्षक मोन्टी देखाईले यो खेलका लागि निर्धारण गरेका छन्।
तेस्रो खेल खेल्दै गरेको नेपाल वेस्ट इन्डिजलाई हराएर प्रतियोगितामा दोस्रो जित हात पार्न चाहन्छ। नेपाली टिमका प्रशिक्षक वेस्ट इन्डिजबारे निकै जानकार छन्। किनभने उनी नेपाल आउनुपूर्व वेस्ट इन्डिजका ब्याटिङ प्रशिक्षक थिए। वेस्ट इन्डिज दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियनसमेत हो। वेस्ट इन्डिजविरुद्ध नेपालको यो नै पहिलो भेट हो।
पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो। आज नेपालले जितको लक्ष्य राखेको छ।
पहिलो खेलमा अमेरिकालाई पराजित गरेको वेस्ट इन्डिज नेपाललाई पराजित गरि सुपर सिक्सको सम्भावना बलियो बनाउन चाहन्छ।
नेपालको प्लेईङ–११
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी


