काठमाडौँः नेपाल राष्ट्र बैंकले आज (सोमबार) १५ अर्ब रुपैयाँ बराबरको एकवर्षे राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले केन्द्रीय बैंकले उक्त ऋणपत्रको बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार ऋणपत्रको अवधि एक वर्ष हुनेछ भने यसको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण गरिनेछ। ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था गरिएको छ।
बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँदेखि, ५ करोड रुपैयाँले भाग जाने गरी, आह्वान गरिएको कुल रकमसम्म बोलपत्र पेश गर्न सक्नेछन्।
यस ऋणपत्रको सावाँ तथा ब्याज भुक्तानी २०८४ साल असार २९ गते गरिनेछ। बोलकबोल एकल वा बहुब्याजदर दुवै आधारमा गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
बाँडफाँटका क्रममा प्राप्त बोलपत्रहरूलाई ब्याजदरका आधारमा सानोदेखि ठूलो क्रममा राखिनेछ। आह्वान गरिएको रकम वा समितिले निर्धारण गरेको सीमासम्म पुगेपछि कायम हुने ब्याजदरलाई एकल ब्याजदर (कट–अफ–रेट) मानिनेछ। त्यस दर वा सोभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने सहभागीहरूलाई सोही एकल ब्याजदरमा ऋणपत्र बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ।


