काठमाडौँः साताको पहिलो कारोबार दिन (सोमाबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक ३०.६० अंक घटेर २ हजार ५७०.१८ विन्दुमा झरेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ६ अर्ब ८६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार रुपैयाँबराबरको ४ करोड १७ लाख २५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। ऋणपत्रको कारोबार बढेसँगै यस दिन पनि कारोबार रकम बढ्न पुगेको हो।
यस दिन सबैभन्दा बढी सेयर मूल्य सामुदायिक लघुवित्त वित्तीय संस्थाको ५.३७ प्रतिशत बढेको छ। कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक ११.२८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एनएमबि डिबेञ्चर ८.५० प्रतिशत २०८७÷८८ शीर्ष स्थानमा रहेको छ। यस दिन ४८ करोड ४६ लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको हो।


