काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा उनलाई पक्राउ गरेको हो।
सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार पन्तलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। उनीमाथि रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको कर्जामा अनियमितता गरेको आरोपमा अनुसन्धान भइरहेको छ।
यस प्रकरणमा रिसोर्टका अध्यक्ष शशिधर शर्मा पौडेल यसअघि नै सीआईबीको हिरासतमा रहेका छन्। प्रभु बैंकले उक्त कम्पनीलाई ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
सीआईबी स्रोतका अनुसार नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले २०८३ असारमा गरेको विशेष स्थलगत निरीक्षणपछि कर्जा प्रवाहमा भएको अनियमितता उजागर भएको हो। सोही प्रतिवेदनका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ।


