काठमाडौँः नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) सम्बन्धी व्यवस्था पालना नगरेको भन्दै हिमालयन बैंक लिमिटेडलाई ४ लाख २६ हजार ८८४ रुपैयाँ ९९ पैसा जरिवाना गरेको छ।
राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका अनुसार आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा बैंकले तोकिएको न्यूनतम नगद मौज्दात कायम गर्न नसकेको हो।
बैंकले २०८३ भदौ ३ गते एक दिनका लागि राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत रकमसमेत कायम गर्न सकेको थिएन।
अनिवार्य नगद मौज्दात बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा राख्नुपर्ने न्यूनतम रकम हो। राष्ट्र बैंकले तोकेको यस्तो व्यवस्था पालना नगरेपछि हिमालयन बैंकलाई जरिवाना गरिएको हो।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नियामकीय व्यवस्था पालना गराउन नियमित रूपमा सुपरिवेक्षण गर्दै आएको छ।



