काठमाडौँ: लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्दै आजदेखि बिक्री आवेदन खुला गरेको छ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन गरेको हो।
१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ। निष्काशन गरिने कुल ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमार्फत उपलब्ध गराइनेछ।
सार्वजनिक निष्काशनतर्फ छुट्याइएकोमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। इच्छुक लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
बैंकका अनुसार ऋणपत्र निष्काशन छिटोमा साउन १९ गते बैंकिङ समयपछि बन्द हुनेछ। सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि बढाएर साउन २८ गतेसम्म कायम रहनेछ। उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी माछापुच्छ्रे क्यापिटल लिमिटेड ले निर्वाह गरिरहेको छ।


