काठमाडौँः नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि शुक्रबार २५ अर्ब रुपैयाँ खिच्ने भएको छ । उक्त निक्षेप संकलनको बोलकबोल आज साउन १५ गते दिउँसो ३ः०० बजेसम्म अनलाइन प्रणालीमार्फत हुनेछ।
राष्ट्र बैंकका अनुसार यो २ महिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी मिति २०८३ असोज १४ गते रहनेछ। यस बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
निक्षेप संकलनको ब्याजदर बहुब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ।
बैंकहरूले कम्तीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग जाँदा बाँकी नरहने (निःशेष भाग जाने) गरी कुल २५ अर्ब रुपैयाँसम्म आवेदन दिन सक्नेछन्।
स्वीकृत बोलपत्र बापतको रकम सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खाताबाट खर्च गरी निक्षेपको अलगै खाता खोली जम्मा गरिनेछ। निष्कासनका दिन खातामा पर्याप्त रकम नभएमा सम्बन्धित बैंकलाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन प्रतिबन्ध लगाइने कडा चेतावनी राष्ट्र बैंकले दिएको छ।


