काठमाडौँः कुमारी बैंक लिमिटेडले आफ्नो परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधामार्फत एक लाभग्राहीलाई १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको छ।
बैंकका अनुसार गौमुल शाखामार्फत श्रीमती बना देवी बोहरालाई उक्त रकम उपलब्ध गराइएको हो। उनका श्रीमानको दुर्घटनाजन्य निधनपछि बीमा दाबी प्रक्रिया पूरा भएसँगै बैंकले बीमा सुविधा अन्तर्गतको रकम हस्तान्तरण गरेको जनाएको छ।
कुमारी बैंकले बचत योजनासँग जोडिएको बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत प्रदान गर्ने उद्देश्य राखेको बताएको छ। बैंकका अनुसार यस्तो व्यवस्थाले ग्राहकको बचत मात्र नभई परिवारको आर्थिक सुरक्षालाई पनि मजबुत बनाउने अपेक्षा गरिएको छ।
विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म बैंकिङ तथा बीमा सेवाको पहुँच विस्तार गर्ने लक्ष्यअनुरूप यस्ता बचत योजनाहरू सञ्चालन गरिएको बैंकको भनाइ छ। यस्ता सुविधाले आर्थिक समावेशीकरणलाई टेवा पुर्याउनुका साथै आवश्यक पर्दा परिवारलाई वित्तीय सहयोग उपलब्ध गराउने विश्वास बैंकले व्यक्त गरेको छ।
हाल कुमारी बैंकले देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले बचत, निक्षेप, बीमा तथा अन्य बैंकिङ सेवामार्फत ग्राहकको वित्तीय सुरक्षा र सहज बैंकिङ पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गरिरहेको जनाएको छ।


