काठमाडौँः साताको अन्तिम कारोबार दिन शुक्रबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला चार कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से, यस दिन भने बढेको हो।
आज नेप्से परिसूचक १२.९६ अंक बढेर २ हजार ६८५.५४ विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ३ अर्ब ३८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार रुपैयाँबराबरको ८८ लाख ५१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज पनि एभरेष्ट कलर लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। साथै, कारोबारमा आएको बोटलर्स नेपाल (तराई) को सेयरमूल्य यस दिन सबैभन्दा बढी ५.३३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको मात्र यस दिन १७ करोड २६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।


