काठमाडौँः नेपाल विद्युत् प्राधिकरणले स्युचाटार–मातातीर्थ १३२ केभी प्रसारण लाइनमा तार चुँडिएपछि आकस्मिक मर्मत गर्नुपर्ने भएकाले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा करिब एक घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ।
प्राधिकरणका अनुसार स्युचाटार सबस्टेसनस्थित स्युचाटार–मातातीर्थ १३२ केभी लाइन बसमा अचानक तार चुँडिएपछि अपराह्न ४ः३० बजेदेखि ५ः३० बजेसम्म ‘सटडाउन’ लिएर मर्मत कार्य गरिनेछ।
यस अवधिमा स्युचाटार, पाटन, सिंहदरबार र टेकु सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रहरूमा बत्ती जानेछ।
मर्मत कार्य निर्धारित समयभन्दा अघि सम्पन्न भए विद्युत् सेवा पनि सोहीअनुसार निर्धारित समयभन्दा अगावै सुचारु गरिने प्राधिकरणले जनाएको छ।
आकस्मिक मर्मतका कारण सेवाग्राहीमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गर्दै आवश्यक सहयोग र समझदारीका लागि आग्रह गरेको छ।


