काठमाडौँ: पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको द्रुत आर्थिक विकास र समृद्धिको आधार पर्यटन क्षेत्र बन्न सक्ने बताएका छन्। नेपाल उनले राजनीतिक परिवर्तनलाई आर्थिक समृद्धिमा रूपान्तरण गर्न पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका छन्। यिनै समसामयिक विषयमा पाण्डेसँग गरिएको संवादको सम्पादित अंश:
तपाईंले नेपालको आर्थिक समृद्धिको आधार पर्यटन बन्न सक्छ भन्नुभएको छ। किन?
नेपालमा अथाह पर्यटन सम्भावना भए पनि त्यसअनुसार यो क्षेत्रको विकास हुन सकेको छैन। नेपालसँग भौगोलिक, सांस्कृतिक, धार्मिक तथा प्राकृतिक विविधताको अनुपम सम्पदा छ। तर राजनीतिक अस्थिरता, कमजोर शासकीय प्रणाली, पूर्वाधार अभाव र दीर्घकालीन दृष्टिकोणको कमीका कारण पर्यटनले अपेक्षित गति लिन सकेको छैन।
नेपालमा वार्षिक ११ लाख आसपास मात्रै पर्यटक भित्रिरहेका छन्। आर्थिक समृद्धिको आधार बन्ने आधार के त?
सन् २०२५ मा नेपालमा ११ लाख ५८ हजार विदेशी पर्यटक भित्रिएका थिए। यो संख्या नेपालको सम्भावनाको तुलनामा अत्यन्त न्यून रहेको हो। नेपालसँग मिल्दोजुल्दो भूपरिवेष्ठित मुलुक लाओसमा वार्षिक करिब ४५ लाख पर्यटक पुग्छन्। नेपालले पनि त्यति नै संख्यामा पर्यटक आकर्षित गर्न सक्छ।
त्योअनुसार पर्यटक आकर्षित गर्न नेपाल किन असमर्थ भयो त?
लामो समयको राजनीतिक अस्थिरता र एक दशक लामो सशस्त्र द्वन्द्व जस्ता कारणले अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि कमजोर बनाएको छ। सडक, हवाई सेवा, स्वास्थ्य, सुरक्षा, प्रवर्द्धन र सेवा–सुविधाजस्ता आधारभूत पूर्वाधारको विकास पर्याप्त हुन नसक्दा पर्यटन क्षेत्र प्रभावित भएको छ। नेपाल प्राकृतिक सम्पदाको धनी देश हो। सगरमाथा, लुम्बिनी, हिमाल, पहाड, तराई, विविध जातजाति, संस्कृति र जैविक विविधताले भरिएको देश भएर पनि हामीले ती सम्पदालाई प्रभावकारी रूपमा विश्व बजारमा प्रस्तुत गर्न सकेका छैनौं।
पर्यटन क्षेत्रको विकासका लागि स्पष्ट भिजन–मिसन र प्रभावकारी कार्यान्वयन आवश्यक छ। विगत चार दशकभन्दा बढी समय पर्यटन क्षेत्रमा बिताउँदा करिब ४० भन्दा बढी पर्यटन मन्त्री र सचिवसँग काम गरेको अनुभवका आधारमा म के भन्न सक्छु भने नेतृत्व तहमा दीर्घकालीन सोच र निरन्तरता अभाव देखिन्छ।
पर्यटकको संख्या वृद्धि कसरी गर्ने?
पर्यटन व्यवसायीहरूले एक दीर्घकालीन योजना तयार पारेका छन्। जसलाई कार्यान्वयन गर्ने हो भने सन् २०२६ मा पर्यटक आगमन १० प्रतिशतले वृद्धि गर्न सकिए १२ लाख ७४ हजार पर्यटक नेपाल भित्र्याउन सकिन्छ। त्यसपछि वार्षिक १५ प्रतिशत वृद्धिदर कायम गर्न सके सन् २०३२ सम्म पर्यटक संख्या २९ लाख ४७ हजार पुग्नेछ। यसरी वार्षिक १० प्रतिशतको निरन्तर वृद्धि कायम रहे सन् २०४० सम्म नेपालमा ६३ लाख विदेशी पर्यटक भित्र्याउन सकिन्छ। ६३ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न ६ वटा आधारशिला महत्वपूर्ण छन्। पूर्वाधार विकास, पहुँच सहजता, पर्यटन उत्पादन विकास, अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन, नीतिगत सुधार तथा दक्ष जनशक्ति विकास गर्न सकेमा यो लक्ष्य सहजै हासील गर्न सकिन्छ। यस्तो लक्ष्य हासिल भए नेपालको वर्तमान आर्थिक समस्याको ठूलो हिस्सा समाधान हुन्छ।
हाल ८० लाखभन्दा बढी नेपाली युवा रोजगारीका लागि विदेश गएका कारण आन्तरिक बजारमा उपभोक्ताको अभाव देखिएको छ। यसले व्यापार, होटल, रेस्टुरेन्ट, निर्माण, कृषि तथा सेवा क्षेत्रलाई असर गरिरहेको छ। तर लाखौं पर्यटक नेपाल भित्र्याउन सकिए उनीहरू स्वयं उपभोक्ताका रूपमा बजारमा प्रवेश गर्ने भएकाले अर्थतन्त्र चलायमान हुन्छ।
पर्यटन क्षेत्रको योगदान हाल कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब ६/७ प्रतिशत रहेकोमा पर्यटक आगमन उल्लेख्य रूपमा बढाउन सके यो योगदान १० देखि १५ प्रतिशतसम्म पुग्न सक्छ। विदेशी मुद्रा आम्दानी पनि हालको तुलनामा १५ गुणासम्म बढ्न सक्छ।
रोजगारी सिर्जनामा पर्यटनको भूमिका कस्तो देख्नुहुन्छ?
पर्यटन क्षेत्रबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५० लाखसम्म रोजगारी सिर्जना हुनु कठिन कुरा होइन। पर्यटन विस्तारसँगै हस्तकला, गार्मेन्ट, कृषि, स्थानीय उत्पादन तथा घरेलु उद्योगहरूको माग बढेर ग्रामीण अर्थतन्त्रसमेत सुदृढ हुनजान्छ।
मेडिकल टुरिजम, वेलनेस टुरिजम, शैक्षिक पर्यटन, स्वयंसेवी पर्यटनजस्ता नयाँ क्षेत्रको विकासमार्फत नेपालले विश्व पर्यटन बजारमा नयाँ अवसरहरू सिर्जना गर्न सक्छ। साथै पर्यटनको विस्तारले अन्तर्राष्ट्रिय सम्बन्ध, सांस्कृतिक आदानप्रदान, प्रविधि हस्तान्तरण र सीप विकासमा समेत सकारात्मक प्रभाव पार्नेछ।
पर्यटन केवल भ्रमणको विषय होइन, यो नेपालको आर्थिक रूपान्तरणको आधारशिला बन्न सक्छ। स्पष्ट योजना, बलियो नेतृत्व र प्रभावकारी कार्यान्वयनका साथ अघि बढ्न सके पर्यटनले नेपालको समृद्धिको सपना साकार पार्न सक्छ।
पर्यटन क्षेत्र सुधारका लागि सरकार र निजी क्षेत्रको भूमिका के कस्तो हुन्छ?
पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक छ। पर्यटनसम्बन्धी होटल, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक पूर्वाधारमा निजी क्षेत्रले नै लगानी गर्न सक्ने भएकाले राज्यले मुख्य रूपमा सडक, विमानस्थल र यातायात पूर्वाधारमा ध्यान दिनुपर्छ।
काठमाडौँ–पोखरा–लुम्बिनी–चितवन–काठमाडौँलाई जोड्ने पर्यटन सर्किटलाई अन्तर्राष्ट्रियस्तरको चार लेन सडकमार्फत विकास गर्न जरुरी छ। पर्यटकले जाम, खाल्डाखुल्डी र अवरोधबिना सहज यात्रा गर्न सक्ने वातावरण बनाउनुपर्छ।
त्यस्तै, महेन्द्र राजमार्गलाई भविष्यमा एक्सप्रेस–वेका रूपमा स्तरोन्नति गरी भारत र नेपालबीचको पर्यटन तथा आवागमनको मुख्य मार्ग बनाउनुपर्छ। भारत, बंगलादेश र उत्तरपूर्वी भारतका करोडौँ मानिसलाई लक्षित गर्दै गुणस्तरीय सडक सञ्जाल निर्माण गर्न सके नेपाल क्षेत्रीय पर्यटनको केन्द्र बन्न सक्छ।
सगरमाथा क्षेत्र नेपालको प्रमुख आकर्षण भएकाले काठमाडौँ–फाप्लु–लुक्ला सडकलाई सगरमाथा राजमार्गका रूपमा विकास गर्न जरुरी छ। साथै, केरुङ–काठमाडौँ, तातोपानी–काठमाडौँ तथा कोरला–पोखरा–भैरहवा जस्ता उत्तर–दक्षिण करिडोरलाई स्तरोन्नति गरेर चीन र भारतबीचको पर्यटन तथा आवागमनलाई सहज बनाउनुर्छ।
सीमावर्ती नाकाहरूमा डिजिटल ट्राभल पास, क्यूआर कोड र आधुनिक प्रविधिमा आधारित भन्सार तथा सुरक्षा प्रणाली लागू गर्नुपर्छ। यसले विदेशी पर्यटकलाई छिटो, सुरक्षित र सहज सेवा उपलब्ध गराउँछ।
पर्यटक आगमन बढाउन नयाँ पर्यटन ‘प्रोडक्ट’ विकास गर्नुपर्ने आवश्यकता पनि छ। पूर्वी र पश्चिमी तराईमा डिज्नील्यान्ड वा कोरियाको ‘लोटे वर्ल्ड’ जस्ता अन्तर्राष्ट्रियस्तरका थिम पार्क स्थापना गर्न सके भारतीय तथा बंगलादेशी पर्यटक आकर्षित गर्न सकिन्छ।
त्यस्तै, बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्धको जीवन र दर्शनमा आधारित थिमेटिक पर्यटन केन्द्र निर्माण गरी पर्यटकको बसाइँ अवधि लम्ब्याउन सकिन्छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई दीर्घकालीन रूपमा ‘लङ–हल हब’ का रूपमा विकास गर्न सके नेपाललाई अन्तर्राष्ट्रिय ट्रान्जिट तथा पर्यटन केन्द्रका रूपमा स्थापित गर्न सकिन्छ।
अन्त्यमा,
स्पष्ट योजना, आधुनिक पूर्वाधार र प्रविधिमैत्री सेवा प्रणालीमार्फत नेपालले आफ्नो पर्यटन सम्भावनालाई आर्थिक समृद्धिको आधारमा रूपान्तरण गर्न सकिन्छ।


