काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ मा नाफा र आम्दानी दुवै बढाएको छ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २९.०९ प्रतिशत बढेर ७९ करोड ७० लाख रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ६१ करोड ७४ लाख रुपैयाँ थियो। यस वर्ष कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा १७ करोड ९६ लाख रुपैयाँ बढेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
कम्पनीको आम्दानी पनि १७.३१ प्रतिशत बढेको छ। आर्थिक वर्ष २०८२/०८३ मा कम्पनीले बिजुली बेचेर १ अर्ब ५३ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १ अर्ब ३० करोड ७२ लाख रुपैयाँ थियो।
६५ मेगावाटको दूधखोला आयोजनालाई जुट्यो लगानी, एनएमबी बैंकको अगुवाईमा १० अर्ब ऋण
माउन्टेन इनर्जीको नाफा बढ्नुमा नेपाल विद्युत् प्राधिकरणसँगको विद्युत् खरिद सम्झौता (पीपीए) सम्बन्धी विवादमा भएको प्रगतिले पनि भूमिका खेलेको छ।
विद्युत् विवाद समाधानका लागि गठित निकाय र उच्च अदालत पाटनबाट कम्पनीको पक्षमा फैसला भएपछि विद्युत् प्राधिकरणले २९ करोड ३० लाख ९० हजार रुपैयाँ अदालतमा जम्मा गरिसकेको कम्पनीले जनाएको छ।
कम्पनीले प्राधिकरणबाट अझै ९३ करोड २५ लाख ७० हजार रुपैयाँभन्दा बढी रकम प्राप्त गर्न बाँकी रहेको जनाएको छ। उक्त रकमसम्बन्धी प्रक्रिया ललितपुर जिल्ला अदालतमा अघि बढिरहेको छ।
वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५२ पैसा रहेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ७८ पैसा छ।
रिपोर्टिङ अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम ६७३ रुपैयाँसम्म पुगेको थियो भने अन्तिम कारोबार मूल्य ५६९ रुपैयाँ थियो। मूल्य आम्दानी अनुपात २२.२९ गुणा रहेको कम्पनीले जनाएको छ।
दुई आयोजना नियमित सञ्चालनमा
माउन्टेन इनर्जीका ५ मेगावाटको तादीखोला र ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजना नियमित रूपमा सञ्चालनमा छन्।
कम्पनीका अनुसार मिस्त्रीखोला आयोजना हाल कर छुटको सुविधामा रहेको छ। यसले पनि कम्पनीको नाफामा सकारात्मक प्रभाव पारेको छ।
कम्पनीको सञ्चित कोष तथा जगेडा रकम १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। कम्पनीको ऋण तथा सापटी पनि क्रमशः घट्दै गएको वित्तीय विवरणमा देखिएको छ।
कम्पनीको गैरचालू दायित्वअन्तर्गतको ऋण अघिल्लो वर्ष २ अर्ब ६९ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८२०८३ मा घटेर २ अर्ब २३ करोड रुपैयाँमा झरेको छ।
कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड र रिर्जभमा १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।
ऋण घट्दै जाँदा कम्पनीको वित्तीय लागत घटाउन र नाफा बढाउन सहयोग पुगेको देखिन्छ। ऋण व्यवस्थापनमा सुधारसँगै कम्पनीको वित्तीय अवस्था थप बलियो बन्दै गएको कम्पनीको वित्तीय विवरणले देखाएको छ।
कम्पनीले आयोजना सञ्चालन तथा ऋणको किस्ता भुक्तानी नियमित रूपमा भइरहेको जनाएको छ।
