काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले नयाँ आयोजना बनाउन लागेको छ। कम्पनीले १२६ मेगावाटको तल्लो सेती अर्धजलासय –पीआरओआर) आयोजना बनाउन विद्युत विकास विभागमा निवेदन दिएको छ।
विभागले पनि तनहुँलाई विद्युत उत्पादन इजाजत (लाइसेन्स) दिने प्रक्रिया अघि बढाएको छ। ३५ दिनपछि विभागले तनहुँ हाइड्रोपावरलाई विद्युत उत्पादन लाइसेन्स दिनेछ।
कम्पनीले हाल ५५ अर्ब रुपैयाँ लगानीमा १४० मेगावाटको तनहुँ अर्धजलासय जलविद्युत आयोजना बनाइरहेको छ। आयोजनाको ७८ प्रतिशत काम सकिएको छ।
निर्माण हुन लागेको तल्लो सेती आयोजना २०८८ पुस(डिसेम्बर २०३१ मा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।
आयोजना तनहुँको ऋषिङ गाउँपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका आवुखैरनी गाउँपालिका, देशघाट गाउँपालिका र भरतपुर महानगरपालिकामा सेती नदीको पानीलाई उपयोग गर्दै बिजुली उत्पादन गर्ने लक्ष्य छ।
आयोजनाबाट वार्षिक सरदर ५२ करोड युनिट विद्युत उत्पादन हुनेछ। आयोजना बनाउन २२ करोड ७० लाख अमेरिकी डलर (२६ अर्ब रुपैयाँ) लाग्ने अनुमान गरिएको छ।
तल्लो सेती जलविद्युत निर्माण हुँदै, आयोजनालाई जग्गा अधिग्रहण सुरु
आयोजनामा एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोग हुने भएको छ। १४० मेगावाटको तनहुँमा पनि एडीबी मुख्य लगानीकर्ता रहेको छ। आयोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ।
आयोजनाको बाँध सेती नदीको दायाँ किनारामा र विद्युतगृह सेती नदी त्रिशूली नदीको संगम स्थल भन्दा १.४ किलोमिटर माथि रहने भएको छ।
विद्युत उत्पादनका लागि सेती नदीमा बनाइने प्रस्तावित बाँधको लम्बाइ २९७ मिटर हुनेछ। बाँध रहने स्थान समुन्द्री सतहबाट २७४ रहनेछ। सुरुङको लम्बाइ ६.७६ किलोमिटर हुने कम्पनीले जनाएको छ।
विद्युतगृहमा जडान हुने तीनवटा फ्रान्सिसको टर्वाइन र जेनेरेटरमार्फत १२६ मेगावाट उत्पादन हुनेछ। आयोजनाबाट उत्पादन हुने बिजुली २ किलोमिटर प्रसारण लाइनमार्फत २२० केभी न्यू भरतपूर सबस्टेशनमा समाहित हुनेछ।
आयोजनाको जग्गा अधिग्रहणका लागि क्षतिपूर्ति निर्धारण गरिएको छ। विद्युतगृह, कार्यालय भवन, कर्मचारी आवास तथा अन्य संरचना निर्माणका लागि अधिग्रहण गरिने जग्गामा रहेका घर, गोठ, टहरा तथा अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गरिएको आयोजनाले जनाएको छ।
आयोजनाको बाँध तनहुँ बन्दीपुर गाउँपालिकाअन्तर्गत सारङघाट नजिक सेती नदीमा निर्माण गरिनेछ। आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) एडीबीको अनुदान सहयोगमा तयार गरिएको हो।
आयोजनाबाट बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१३, १४, देवघाट गाउँपालिका–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुनेछन्।
देवघाट गाउँपालिका–४ गाईघाटमा अर्धभूमिगत विद्युतगृह निर्माण गरी उत्पादन गरिने भएको छ।
