आफ्ना अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृत उपर मुद्दा दायर भएपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले एक विज्ञप्तिमार्फत् आफ्नो धारणा सार्वजनिक गरेको छ। बैंकले प्रचलित कानुन, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यता अनुसार गरिआएको नियमित काम कारवाहीको विषयमा मुद्दा दायर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
यस घटनाबाट बैंकको नियमित बैंकिङ कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै पनि अवरोध सिर्जना नभएको एवं बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत रहि संस्थाको सबलता, समग्र ग्राहकको हित र बैंकिङ प्रणालीको स्थायित्वलाई केन्द्रमा राखी सम्पूर्ण सेवा तथा गतिविधिहरू पूर्ववत् रूपमा नियमित, सुरक्षित र निर्बाध रूपमा सञ्चालन रहने बैंकले बताएको छ।
बैंकिङ प्रणालीमा जनताको विश्वास, कर्मचारीको मनोबल र वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय तथा सहयोग गर्न बैंकले अनुरोध गरेको छ।
बैंकका सम्बन्धमा आएका अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाई आधिकारिक सूचनालाई मात्र आधार बनाउन बैंकका समस्त निक्षेपकर्ता, ग्राहकवर्ग, शेयरधनी महानुभावहरु तथा सरोकारवालालाई आग्रह गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले नेपाल सरकारको जाहेरी र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानका आधारमा बैंकको शीर्ष नेतृत्वलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ। बैंकका अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सीईओ), एक कर्मचारीसहित ८ जनाविरुद्ध ठगी, आपराधिक विश्वासघात, संगठित अपराध तथा बैंकिङ कसुरसम्बन्धी अभियोगमा ९६ अर्ब १२ करोड १७ लाख २० हजार ४४२ रुपैयाँ बिगो मागदाबी गरिएको छ।


