काठमाडौँः माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ थियो। यससँगै बैंकको खुद नाफा १२.२४ प्रतिशतले बढेको हो।
वित्तिय विवरण अनुसार बैंकको लाभांश क्षमता ७.५१ प्रतिशत रहेको छ। बैंकको वितरणयोग्य नाफा ९३ करोड ६३ लाख रुपैयाँबाट बढेर ९८ करोड १९ लाख रुपैयाँ पुगेको छ।
यद्यपि, बैंकले गत आर्थिक वर्षमा जारी गरेको ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयरको लाभांशका लागि ७ करोड ५५ लाख रुपैयाँ छुट्याएपछि बैंकको साधारण सेयरधनीका लागि लाभांश क्षमता ७.५१ प्रतिशत कायम भएको हो।
बैंकको खुद ब्याज आम्दानी, शुल्क तथा कमिसन आम्दानी, नेट ट्रेडिङ आम्दानी र अन्य सञ्चालन आम्दानीमा वृद्धि भएको छ। यसले कर्जा नोक्सानी व्यवस्थापन करिब दोब्बर भए पनि बैंकको खुद नाफा बढाउन सहयोग गरेको देखिन्छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँबाट बढेर ६ अर्ब ७ करोड ४९ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब २८ करोड ५२ लाख रुपैयाँबाट बढेर १ अर्ब ५८ करोड ५७ लाख रुपैयाँ पुगेको छ। नेट ट्रेडिङ आम्दानी पनि ३३ करोड २२ लाख रुपैयाँबाट बढेर ४८ करोड ११ लाख रुपैयाँ पुगेको छ।
यी सूचकमा भएको वृद्धिसँगै बैंकको कुल सञ्चालन आम्दानी ७ अर्ब ४४ करोड ७ लाख रुपैयाँबाट बढेर ८ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ पुगेको छ।
बैंकको निष्क्रिय कर्जा (एनपीएल) सामान्य रूपमा बढेको छ। अघिल्लो आर्थिक वर्षमा ३.९६ प्रतिशत रहेको एनपीएल बढेर ३.९८ प्रतिशत पुगेको छ।
त्यस्तै, बैंकको कर्जा नोक्सानी व्यवस्था ५५ करोड ६७ लाख रुपैयाँबाट बढेर १ अर्ब ८ करोड १९ लाख रुपैयाँ पुगेको छ। यसले सञ्चालन आम्दानीमा भएको वृद्धिको तुलनामा खुद नाफा अपेक्षाकृत कम दरले बढ्नुको प्रमुख कारण बनेको छ।
१२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो आर्थिक वर्षमा १५ रुपैयाँ ८९ पैसा रहेको ईपीएस बढेर १७ रुपैयाँ ८९ पैसा पुगेको छ।
बैंकको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ९० पैसा रहेको छ भने जगेडा तथा कोषमा ७ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ रहेको छ।
बैंकको निक्षेप संकलनमा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख रुपैयाँ रहेको कुल निक्षेप बढेर २ खर्ब २० अर्ब ४९ करोड ८५ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, बैंकको कर्जा लगानी पनि १ खर्ब ४१ अर्ब ४३ करोड ६० लाख रुपैयाँबाट बढेर १ खर्ब ६३ अर्ब ९९ करोड १२ लाख रुपैयाँ पुगेको छ।


