काठमाडौं। सञ्चालनमा रहेको मुलुककै सबैभन्दा ठूलो ४५६ मेगावाटको जलविद्युत आयोजना माथिल्लो तामाकोसीले बिजुली बेचेर १० अर्ब ६६ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ। यो आयोजनाको हालसम्मकै सर्वाधिक आम्दानी हो।
अघिल्लो वर्ष आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले बिजुली बेचेर छ अर्ब ९२ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको थियो। गत वर्ष कम्पनीले आम्दानी ४ अर्ब रुपैयाँ बढाएको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
आम्दानी बढेसँग कम्पनीको खुदनाफा ९२ करोड ५९ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष ३ अर्ब ६८ करोड रुपैयाँ घाटामा थियो। आयोजना हाल पूर्ण रुपमा सञ्चालन भइरहेको छ। निरन्तरको वर्षाको कारण नदीमा पानी बढ्न गएकोले विद्युत बिक्री आय बढेको र दीर्घकालिन ऋणको ब्याजदर पनि घट्न गएकोले ब्याज खर्च घटेको कारण कम्पनीले नाफा गर्न सफल भएको अपरले जनाएको छ।
सरकारको दीर्घकालिन ऋण ६७ अर्ब ९ करोड रुपैयाँ बढी छ। आयोजना बनाउन लिएको ऋण भुक्तानीको लागि ३० वटा किस्ताको १५ वर्षे तालिका तथा अन्य संस्थागत ऋणप्रदायक संस्थाहरुको दीर्घकालिन ऋण भुक्तानीको लागि ६० वटा किस्ताको १५ वर्षे ऋण भुक्तानी तालिका निर्धारण गरिएको छ।
आर्थिक वर्ष २०८२/०८३ को असारसम्म सरकारको नौ अर्धवार्षिक तथा अन्य संस्थाहरुको १८ त्रैमासिक किस्ता साँवा तथा ब्याज भुक्तानी गरिएको कम्पनीले जनाएको छ। विविध कारणहरुले आयोजना निर्माण सम्पन्न अवधि बढ्न गई समग्र आयोजनाको लागत बढेर ९१ अर्ब रुपैयाँ पुगेको छ।
ऋणप्रदायक संस्थाहरुबाट ब्याजदर घट्न नसक्दा खर्च अत्यधिक वृद्धि भएको तर सोहीअनुरुप विद्युत बिक्रीबाट आम्दानी बढ्ने अवस्था नरहेकाल विगत चार वर्षदेखि कम्पनी निरन्तर घाटमा रहेको थियो।
कम्पनी व्यवस्थापनले साविकका ऋण प्रदायक संस्थाहरु तथा बैंक, वित्तीय संस्थाहरुसँग निरन्तर छलफल गरी आउँदो केही वर्षहरुको लागि दीर्घकालिन ऋणको ब्याजदर स्थिर कायम गरी ब्याज खर्च घटाउने प्रयास गरेको छ। आउँदा वर्षहरुमा दीर्घकालिन ऋणको ब्याज खर्च घट्न गई कम्पनी नाफामा रहन सक्ने अपेक्षा गरिएको छ।
साथै मिति २०८१ असोज १० गते साँझदेखि देशव्यापीरुपमा परेको अविरल वर्षाको कारण यस कम्पनीको जलविद्युत केन्द्रको बाँधस्थल क्षेत्रमा आएको पहिरोको कारण क्षति भएको संरचनाहरुको मर्मत तथा पहिरो गएको स्थानको व्यवस्थापन तथा रोकथाम सम्बन्धी ठेक्का अनुसारका अधिकांश कार्यहरु सम्पन्न भएका छन्।
ड्याम अपरेसन कन्ट्रोल भवन निर्माण कार्यको खरिद प्रक्रिया प्रारम्भ गरिएको अपर तामाकोसीले जनाएको छ। पहिरोको कारण जलविद्युत केन्द्रको संरचनाहरु तथा विद्युत बिक्री आयमा भएको क्षतिको बीमा दावी दावी भुक्तानी हुन बाँकी रहेको छ।
कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ छ। यस्तै प्रतिसेयर आम्दानी ४.३७, नेटवर्थ ४४.४८ रुपैयाँ छ।


